
काठमाडौं । अधिकांश सूचक सकारात्मक उन्मुख हुँदा पनि सेयर बजार सुस्त अवस्थामा छ । आर्थिक तथा वित्तीय सूचकका आधारमा मात्र नभई बाह्य घटनाक्रमबाट पनि उत्तिकै प्रभावित देखिने नेपाली सेयर बजार पछिल्लो राजनीतिक खिचातानीको चेपुवामा छ । अहिले एकातर्फ, वर्तमान सरकार चौतर्फी आलोचनाको सिकार भएको छ भने निर्णय क्षमतामा कमजोर सावित देखिँदै आएको छ ।
सत्तारुढ दलकै उच्च पदस्थ व्यक्ति सरकारको कार्यशैलीप्रति आलोचनामा उत्रिँदा सरकार ढल्नेसम्मका अफवाह फैलिरहेका छन् । करिब एक महिनादेखि शिक्षकहरु सडक आन्दोलनमा छन् भने सहकारी पिडीतको लामो समयदेखिको धर्ना अभियान जारी छ । महिना दिन अघि तातिएको राजावादी आन्दोलन केही मत्थर भएपनि ठोस निष्कर्षमा पुगिसकेको अवस्था छैन ।
यी समग्र गतिविधि हुँदै गर्दा आर्थिक तथा वित्तीय क्षेत्रले महत्त्वका साथ हेर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती राजनीतिक भागबण्डाको किचलोमा फसेको छ । एक महिना अघि नै हुनुपर्ने गभर्नर नियुक्त हालसम्म नहुँदा लगानीकर्ताको मनोबल कमजोर बनेको छ । लगानीकर्तामा लगानीको कन्फिडेन्स (मनोबल) कमजोर हुँदा अनुकुल माहोलबीच सेयर बजार निरासामा धकेलिएको छ ।
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी राजनीतिक खिचातानीले बजार चेपुवामा परेको बताउँछन् । ‘पछिल्लो समयको राजनीतिक खिचातानीका कारण बजार निकै सुस्त अवस्थामा छ । अन्यथा, सूचक हालको भन्दा माथि हुनुपर्ने हो,’ अध्यक्ष जिसी भन्छन्, ‘समयमा गभर्नर नियुक्ती नहुनु र अन्य राजनीतिक खिचातानीका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा सकारात्मकता देखिन सकेको छैन ।’
अध्यक्ष जिसीले हाल सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) माथि उक्लिन नसक्नुको कारण पनि यहि भएको बताए । गभर्नर नियुक्तीमा नै ठूलो किचलो पैदा भएकाले लगानीकर्ता ढुक्क हुन सक्ने अवस्था नबनेको उनको भनाइ छ । साथै, पछिल्लो समय सरकारको स्थायीत्वमाथि पनि बारम्बार प्रश्न उठेकाले बजार एक किसिमको अनिश्चिततामा धकेलिएको जिसीको तर्क छ ।

हुन त वित्तीय सूचकलाई हेर्ने हो भने सेयर बजार अनुकुल देखिन्छन् । बैंकको ब्याजदर न्यून विन्दुमा छ भने बजारमा पर्याप्त तरलाता छ । गत आर्थिक वर्षको चैतमा वाणिज्य बैंकको कर्जाको आधारदर (बेसरेट) ८.६१ प्रतिशत रहेकोमा त्यसबाट २.२९ प्रतिशत विन्दुले घटाएर चालु आवको चैतमा ६.३२ प्रतिशत कायम गरेका छन् ।
सीडी रेसियो ७९ प्रतिशत हाराहारी हुँदा चालु आर्थिक वर्षको आठ महिनासम्म विप्रेषण आप्रवाह ९.४ प्रतिशलते बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा २४ खर्ब ९ अर्ब पुगेको छ । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।
नीतिगत व्यवस्था हेर्ने हो भने सेयर बजार प्रतिकुल खासै देखिँदैन । लगानीकर्ताले पनि नेपाल राष्ट्र बैंकले व्यक्तिगत तर्फको सेयर धितो कर्जाको १५ करोडको सीमा नहटाएको र जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा नझारेको गुनासो मात्रै गर्ने गरेका छन् । यसर्थ, नीतिगत ढंगमा लगानीकर्ताको ठूलो असन्तुष्टि पाईदैन । यसबाहेक नेप्सेले २०७८ को उच्च विन्दुको रकेर्ड तोड्न सकेको छैन ।
नेप्से २०७८ भदौ २ गते ३१९९.०३ अंक (त्यसदिन ३२२६ सम्म) पुगेको थियो । त्यसपछि, गत (२०८१) साउन ३१ गते ३०००.८१ विन्दुमा पुगेपनि सो भन्दा माथि जान सकेको छैन । यो बीचमा धेरै कम्पनीको आईपीओ आएका छन् भने ठूलो मात्रामा सेयर नेप्सेमा सूचीकृत भएका छन् । यसर्थ पनि नेप्से माथिल्लो विन्दुमा हुनुपर्ने तर्क लगानीकर्ताले गर्दै आएका छन् । बजार लामो समय माथि उक्लिन नसकेकाले पनि माथि जानुपर्ने विषय लगानीकर्ताले गर्दै आएका छन् ।
तर, राजनीतिक तथा विभिन्न अनिश्चितताको भुमरीका प्रभावमा पर्दै बजार उकालो लाग्न सकेको छैन । झन् दीर्घकालीन लगानी गर्नेको संख्या एकदमै कम छ । सर्टटर्म लगानी गर्ने मात्रै बजारमा बढी हाबी भएका छन् भने लो क्यापका कम्पनी चलेका छन् । सरकारको अपरिपक्व नीतिलाई लगानीकर्ताले पर्ख र हेरको कारण मानेका छन् ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेल अहिले सटटर्म गर्नेहरुले गर्दा मात्रै बजार बढी मात्रामा चलेको बताउँछन् । ‘एकपछिअर्को आन्दोलन र सरकार प्रतिको नकारात्मक चर्चाले लङटर्म लगानी गर्ने पनि पर्ख र हेरको अवस्थामा देखिन्छन्,’ फुल्लेल भन्छन्, ‘अस्थिर अवस्थाले बजारमा जुन किसिमको डिमान्ड आउनुपर्ने हो त्यो आउन सकेको छैन ।’ डिमान्ड नहुँदा बजार पनि माथि जान नसकेको उनको भनाइ छ ।
अन्य सबै सूचक सकारात्मक अवस्थामा रहेको उनले बताए । बैंकको ब्याजदर न्यून विन्दुमा रहेको, आधारदर निरन्तर घटिरहेको, तरलता पर्याप्त रहेको अवस्थामा बजार थप माथि पुग्नुपर्नेमा अस्थिर र नकारात्मक गतिविधिले बजार घटेको उनको दाबी छ । अब, नयाँ गभर्नर आएर नीतिमा थप सुधारका काम गरेमा लामो समयदेखि माथि चढ्न नसकेको बजार राम्रो बन्ने उनको अनुमान छ ।

पछिल्लो साढे दुई महिना यता सेयर बजारमा भएको उतारचढावलाई मात्रै हेर्ने हो भने पनि राजनीतिक घटनाक्रमसँग जोडिएर उत्साह र निरासा छाएको प्रसस्तै पाउन सकिन्छ । गत फागुन १ गते नेप्से २६७८ विन्दुमा थियो । उक्त विन्दुबाट ९ कारोबार दिन लगातार बढ्दै २१२ अंकको वृद्धिका साथ फागुन १८ मा पुग्दा नेप्से २८९० विन्दुमा पुग्यो ।
गत साउन ३१ मा नेप्से ३००० विन्दुमाथि पुगेर फर्किएपछि अधिकांश समय २६०० विन्दु वरिपरी रहेको थियो । त्यसबाट सकारात्मक बन्दै यहीबीचमा अर्थात् फागुन १९ मा नेप्से २९२९.२१ विन्दुसम्म पुग्यो । कठिन मान्दै नेप्सेले साढे २८०० विन्दुको रोकावट पार गरेपनि सो भन्दा माथि जान सकेन ।
फागुन १८ अघिको उक्त ९ कारोबार दिनको उकालो यात्रापछि बजार करेक्सनमा धकेलियो । तर, जब करेक्सन चक्र पुरा गरेर बजारले उकालो लाग्ने संकेत गरेको थियो सोही बीचमा फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा विमानस्थलमा स्वागत गर्न ठुलो संख्यामा मानिस पुगे । सो समयमा, सरकार नै अप्ठ्यारोमा परेको चर्चा चल्यो र बजारमा देखिएको करेक्सनलाई थप घटाउने बाटोमा पुरायो ।
फागुन १८ गते २८९० विन्दुमा रहेको नेप्से त्यसपछिको लगातारको सात कारोबार दिन घट्दै फागुन २७ मा २७१९ विन्दुमा खुम्चियो । सात दिनको लगातारको गिरावटपछि फागुन २८ मा १७ अंकले बढेर २७३६ विन्दुमा पुग्दै नेप्सेले सुधारको आशा देखायो । यद्यपि, त्यसो हुन सकेन । फागुन २८ पछिको छ कारोबार दिन नेप्से फेरि निरन्तर संकुचित बन्दै चैत १० मा २६१४ विन्दु कायम भयो ।
यसपछि, चैत ११ मा नेप्से २६.१० अंकले बढेर २६४० विन्दुमा रोकिएपनि फेरि चैत १२ मा ५८.०५ अंकले घट्दै २५८२ विन्दुमा रोकियो । यसपछिका कारोबार दिनमा नेप्से केही दिन लगातार बढ्ने र केही दिन लगातार घट्नेक्रम चलिरह्यो । राजावादी आन्दोलन मत्थर भएपछि बजार सामान्य करेक्सनसहित बढ्दो क्रममा देखिएको थियो । तर, बजार फेरि गभर्नर नियुक्तीको किचलो सुरु भएसँगै संकुचित बन्न थाल्यो जसले हाल पनि निरन्तरता पाइरहेको छ ।
पछिल्लो पटक २०८१ चैत ३१ गते २६६२ विन्दुमा रहेको नेप्से तीन कारोबार दिन लगातार बढ्दै २०८२ वैशाख ४ मा २७२२ विन्दुमा पुग्यो । उक्त विन्दुबाट नेप्से चार कारोबार दिन घट्यो र वैशाख १० मा २६५५ विन्दुमा रोकियो । गत साताको अन्तिम कारोबार दिन बिहीबार (वैशाख ११)मा नेप्से २ अंकले बढेर २६५८ विन्दुमा रोकियो ।
यस साताको पहिलो कारोबार दिन आइतबार (वैशाख १४)मा नेप्से ३.५८ अंकले बढेपनि सोमबार १४.५३ अंक र मंगलबार १५.०८ अंकले घट्दै २६३१.९८ विन्दुमा रोकिएको छ । समग्र वित्तीय सूचक सकारात्मक रहेकाले बजार घट्न मानिरहेको छैन । तथापि, गभर्नर नियुक्ती र सरकारसँग जोडेर फैलाइएका अफहवाले संकुचित बजार अवस्थामा देखिन्छ । सरकारबाट गभर्नर नियुक्ती प्रक्रिया अझै लम्ब्याइए बजारको मनोबल थप गुम्ने आँकलन लगानीकर्ताले गरिरहेका छन् । सूचक सुस्ताउँदो मात्रामा देखिए पनि कारोबार रकम भने सकारात्मक लयमा नै देखिन्छ ।
पछिल्लो दश दिनको सेयर कारोबार रकमलाई हेर्ने हो भने पनि नेप्सेमा सात अर्ब भन्दा बढीको कारोबार भएको देखिन्छ । नेप्सेका अनुसार आइतबार मात्रै पनि नेप्सेमा कुल १० अर्ब ३४ करोडको कारोबार भएको छ । यद्यपि, सोमबार भने ८ अर्ब ५३ करोड र मंगलबार ७ अर्ब ३१ करोडको कारोबार भएर बजार बन्द भएको छ । कारोबार स्थिति सकारात्मक रहेकाले सामान्य सपोर्ट मिल्यो भने बजार माथि उक्लिने आँकलन लगानीकर्ताको छ ।







प्रतिक्रिया