पहलगाममा आतंकवादी आक्रमण : भारत र पाकिस्तानबीच छेडिएला युद्ध ?


गत साता भारतको कश्मीरमा रहेको पर्यटकीय क्षेत्र पहलगाममा इस्लामी आतंकवादीहरूको आक्रमणमा एकजना नेपाली सहित २६ जनाको हत्या तथा २० जनाभन्दा बढी घाइते भएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको छ ।

द रेजिस्टेन्स फोर्स नामक समूहले आक्रमणको जिम्मेवारी लिएको छ । पाकिस्तानमा रहेको र त्यहाँको संस्थापन पक्षको आशीर्वाद पाएको आतंकवादी समूह लश्कर–ए–तैयबाबाट यो समूह छुट्टिएको र यसले कश्मीरलाई भारतबाट अलग्याउने मिशन लिएको बताइएको छ ।

यस समूहलाई पाकिस्तानको समर्थन रहेको भन्दै भारतले पाकिस्तानतर्फ बग्ने नदीहरूको पानी थुन्ने योजना सार्वजनिक गरेको छ, भारतमा रहेका पाकिस्तानीहरूलाई देश छोडेर जान लगाएको छ र वाघा सीमामा रहेको दुई देशबीचको दैनिक समारोह पनि बन्द गरेको छ ।

भारत र पाकिस्तानका सैनिकहरूबीच कश्मीर उपत्यकामा रहेको नियन्त्रण रेखा (एलओसी) मा शुक्रवार राति गोली हानाहान भएको खबर आएको छ । पाकिस्तानी सेनाले गोलीप्रहारहरू गरेपछि भारतीय सेनाले त्यसको जवाफ फर्काएको बताइएको छ ।

पहलगाममा आतंकवादीहरूले पर्यटकहरूलाई कुन धर्मको हो भनेर सोधीसोधी अनि लुगा खोलेर गुप्तांग हेर्दै हत्या गरेको खबर आएको छ । यसबाट यो हिन्दू धर्मका मानिसलाई मार्ने र यसैको आडमा भारतभरि धार्मिक दंगा भड्काउने प्रयासका रूपमा पनि विश्लेषणहरू भइरहेका छन् ।

सन् २०१९ मा कश्मीरलाई विशेषाधिकार दिने संविधानको धारा ३७० खारेज गरी केन्द्रशासित प्रदेश बनाइएयता कश्मीरमा छिटपुट घटनाबाहेक शान्तिबहाली नै थियो । तर अहिलेको यस आक्रमणले भारतीय राज्यसत्ताको सुरक्षा गुप्तचर संयन्त्र असफल भएको र कश्मीरमा स्थायी शान्ति नआइसकेको देखाएको छ ।

आक्रमणपछि जम्मु कश्मीर प्रहरीले आतंकवादीहरूको पहिचान गरिसकेको बताइएको छ । शनिवार मात्र जम्मु कश्मीरको कुलगाममा आतंकवादीहरूका दुई सहायकलाई सुरक्षाकर्मीहरूले पक्राउ गरिसकेका छन् । त्यस्तै गत शुक्रवार जम्मु कश्मीरको बन्दीपोरा जिल्लामा सुरक्षाकर्मीहरूसँगको मुठभेडमा लश्कर–ए–तैयबाका सदस्य अल्ताफ लालीको हत्या गरिएको खबर पनि आएको छ ।

अब भारत र पाकिस्तानले कस्तो कदम चाल्छन् भन्नेमा धेरैको चासो छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा संलग्न व्यक्ति तथा तिनका मतियारलाई संसारको कुनाकाप्चामा जहाँ लुकेको भए पनि खोज्ने र तिनका विरुद्ध कल्पना पनि गर्न नसकिने सजाय दिइने हुँकार गरेका छन् ।

उता पाकिस्तानका रक्षामन्त्री खवाजा असिफले पहलगाम आक्रमणलाई युद्ध शुरू गर्ने भारतको बहानाका रूपमा अर्थ्याउँदै घटनामा पाकिस्तानको कुनै पनि संलग्नता नरहेको बताएका छन् । पाकिस्तानले भारतीय विमानहरूका लागि आफ्नो हवाईक्षेत्र बन्द गरिएको घोषणा पनि गरेको छ र भारतले नदीको पानी रोक्नु युद्धजन्य कदम भएको बताएको छ ।

भारतीय विश्लेषक प्रवीण स्वामीका अनुसार, पहलगाम घटनापछि पाकिस्तानका विरुद्ध भारतसँग पाँचवटा विकल्प विद्यमान छन् । पहिलो, भारतले पाकिस्तानको मुजफ्फराबादमा रहेका लश्कर आतंकवादी समूहका शिविरहरूमा हवाई आक्रमण गर्न सक्छ । सन् २०१९ मा बालाकोटमा भारतले यस्तै आक्रमण गरेको थियो । वा, त्यसभन्दा एक कदम अघि बढेर लाहोर नजिक रहेको मुरिद्के भन्ने ठाउँमा लश्करको केन्द्रीय कार्यालयमा आक्रमण गर्न सक्छ । पाकिस्तानी वायुसेनाले यसको प्रतिरोध गर्ने सम्भावना छ ।

दोस्रो, सन् २०१६ मा उरी आक्रमणपछि भारतले नियन्त्रण रेखा नजिक गरेको सर्जिकल स्ट्राइक जस्तै किसिमको कुनै कारवाही गर्न सक्छ । भारतले विगतमा पनि नियन्त्रण रेखापारि गएर पाकिस्तानीहरूको टाउको काट्ने कारवाही गरेको थियो ।

तेस्रो, भारतले इजरायलको जस्तै नीति अपनाउँदै इस्लामी जिहादी नेताहरूलाई छानीछानी गोप्य कारवाहीमार्फत हत्या गर्न सक्छ । यसले तत्कालका लागि आतंकवादीहरूलाई निस्तेज त बनाउँछ तर आतंकवादलाई निर्मूल चाहिँ गर्दैन ।

चौथो, भारतले नियन्त्रण रेखा क्षेत्रमा पाकिस्तानी सेनाका विरुद्ध परम्परागत वा गैरआणविक युद्धको घोषणा गर्न सक्छ । त्यस्तो दण्डात्मक युद्धले पाकिस्तानी सेनालाई सबक सिकाउन सकिने सोच भारतको सैन्य नेतृत्वले राखेको छ ।

पाँचौं, भारतले सैन्य कारवाही नभई कूटनीतिक पहल मात्र गर्न सक्छ । भारत सरकारले तत्कालका लागि त कूटनीतिकर्मीको निकाला र इन्डस नदी सम्झौतामा रोकमार्फत कूटनीतिक कदम मात्र चालेको छ तर ठोस सैन्य कारवाही नगरिकन भारतीय जनतालाई सन्तुष्ट बनाउन सकिँदैन भन्ने कुरा मोदीलाई थाहा छ ।

पाकिस्तानले पहलगाम आक्रमणमा आफ्नो संलग्नता नरहेको भनी जतिसुकै स्पष्टीकरण दिए पनि भारतलाई हजारौं चोट लगाएर कश्मीर हत्याउने उसको योजनामुताबिक नै यो पछिल्लो आक्रमण भएको स्पष्ट छ । पाकिस्तानका पूर्व सैन्यप्रमुख जनरल कमर बाजवाले पाकिस्तानको भूआर्थिक स्थिति बलियो बनाउनका लागि भारतसँगको द्वन्द्वलाई थाती राखेको भए पनि उनको ठाउँमा आएका सैन्यप्रमुख असिम मुनिरले भारत सीमामा कायम निष्क्रियता अन्त्य गरिने उद्घोष धेरै अगाडि गरिसकेका थिए ।

गत साता मात्र प्रवासी पाकिस्तानीहरूको सम्मेलनमा उनले भारत र पाकिस्तानलाई छुट्ट्याउने द्विराष्ट्रिय नीतिलाई सधैं याद गरिरहनुपर्ने र हिन्दू मुसलमानबीच सबै कुरा फरक रहेको बताएका थिए । उनको त्यही विषाक्त उद्गारपछि पहलगाममा आतंकवादीहरूले छानीछानी हिन्दूहरूको हत्या गरेका थिए । 

त्यसमाथि अहिले भारतसँग ठूलो नभए पनि सीमित दायराको युद्धका लागि पाकिस्तानी सेना लालायित देखिएको छ र त्यसका लागि पाकिस्तानको आन्तरिक स्थिति जिम्मेवार छ । पाकिस्तानको अर्थतन्त्र अहिले निकै कमजोर छ र अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋणमा मुलुक चलिरहेको छ । रोजगारीको अभाव तथा दैनिक वस्तुको मूल्यवृद्धिका कारण सरकारप्रति पाकिस्तानी जनतामा चरम आक्रोश छ ।

त्यस्तै, जनताले रुचाएका प्रधानमन्त्री इमरान खानलाई कारागारमा राखेको अनि खानको पार्टी तहरीक–ए–इन्साफलाई छिन्नभिन्न बनाएकाले पाकिस्तानी सेनाको लोकप्रियता पनि स्वाट्टै घटेको छ ।

उता, बलोचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा पृथक्तवादी आन्दोलन चलिरहेको छ । सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएपछि अहिले आएर पाकिस्तान टुक्राटुक्रा हुने सम्भावना बढेको छ । यस्तो भयावह स्थितिमा भारतसँग युद्धको अवसर जुरेमा जनतालाई एकजुट बनाउन सकिने सोच पाकिस्तानी संस्थापनले बनाएको हुन सक्छ ।

त्यसो त अहिले भारतको अर्थतन्त्र फलिफुलिरहेको बेलामा पाकिस्तानसँग युद्ध गरेर अर्थतन्त्रलाई दबाबमा पार्न भारतीय सरकार इच्छुक नहोला भन्ने आकलन पनि पाकिस्तानले गरेको हुन सक्छ । भारतले सैन्य कारवाही नगरेमा उसकै बेइज्ज्ती हुने र मोदीको गठबन्धन सरकारलाई अप्ठ्यारो पर्न सक्ने अनुमान गरी पाकिस्तानी सेनाले आफूहरू भारतको मानमर्दन गर्न सफल भएको भाष्य जनतालाई बुझाउन प्रयास गरिरहेका पनि हुन सक्छन् ।

हुन त भारतले कठोर प्रतिक्रिया जनाएमा आफूहरूले आणविक हतियार पनि उपयोग गर्न सक्ने भनी पाकिस्तानीहरूले अभिव्यक्ति दिएका छन् । तर त्यो भने जति सजिलो छैन र अमेरिका चीन जस्ता महाशक्तिले पाकिस्तान र भारत दुवैलाई आणविक हतियार उपयोग गर्न दिने छैनन् ।

तसर्थ, पहलगाममा भएको आतंकवादी आक्रमणले भारत र पाकिस्तानबीचको तनाव चर्काएको भए पनि यो युद्धमै परिणत होला जस्तो देखिँदैन । आणविक निवारण (न्युक्लीयर डिटरेन्स), आर्थिक बाध्यता तथा अन्तर्राष्ट्रिय दबाबले दुई देशबीचको युद्धलाई रोक्न भूमिका खेल्नेछन् । तर नियन्त्रण रेखा वारपार गोलाबारुद आक्रमण वा सर्जिकल स्ट्राइकको सम्भावनालाई चाहिँ नकार्न सकिन्न ।

Skip This