थाइल्याण्डबाट फर्किएका देउवालाई सरकार ढल्न लागेको बारे ३ प्रश्न: जवाफमा भने- थाहा छैन

3.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको गठबन्धन सरकार नढल्ने बताएका छन् ।

स्वास्थ्य उपचारका लागि थाइल्याण्डबाट शुक्रबार स्वदेश फर्कने क्रममा सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा सरकार परिवर्तनबारे आफूलाई केही थाहा नभएको बताए ।

गठबन्धनका विषयमा केही भन्दिनुन भन्दै पत्रकारले सोधेको प्रश्नमा देउवाले भने,’ जो छ ठीक छ ।’

विमानस्थलबाट बाहिरिँदै गर्दा पत्रकारले देउवालाई फेरि अर्को प्रश्न गरे । खटपट सुरु भा हो ? देउवाको जवाफ छ, ‘केही भा छैन ।’

पत्रकारले फेरि अर्को प्रश्न सोधे, सत्ता परिवर्तन नै हुन्छ भन्ने छ नि ? देउवाले सदावाहर शैलीमै जवाफ दिए, ‘कसले भन्यो मलाई थाहा छैन ।’

यसअघि बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग थाइल्याण्ड जानुअघि देउवाको फोनमा कुराकानी भएको र देउवा फर्किएपछि सरकार परिवर्तन हुने संकेत आफ्ना सांसदहरुको बैठकमा गरेका थिए ।

हिजै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सरकारमा बसिरहनु नपर्ने उल्लेख गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले सरकार बचाइदेऊ भनेर नभनेको बताएसँगै सरकार ढल्ने अवस्थामा पुगेको आकलन भएका थिए ।

सरकार ढल्ने चर्चापछि प्रधानमन्त्री ओलीले हिजै साँझ थाइल्याण्डमै देउवालाई टेलिफोन सम्पर्क गरेर ‘हल्लाहरु’का बारेमा सोधेका थिए ।

त्यसको जवाफमा देउवाले केही नभएको जवाफ दिएका थिए ।