
काठमाडौं । भारतबाट बिजुली आयात हुन नसकेपछि औद्योगिक क्षेत्रमा पुनः औपचारिक लोडसेडिङ सुरू भएको छ । नेपाल विद्युत प्राधिकरणले सुक्खा मौसम र भारतबाट अपेक्षित मात्रामा विद्युत् नआएको कारण नेपालमा विद्युत् आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको बताएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै औद्योगिक क्षेत्रमा देखिएको आंशिक लोड कटौती व्यवस्थापन गर्न हरसम्भव प्रयास भइरहेको बताएको छ ।
प्राधिकरणका अनुसार हालको अवस्थामा देशभर औसत १,१७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ, जसमा जलविद्युत् र सौर्य ऊर्जा दुवै समावेश छन् । तर, माग भने चुलिँदै गएको छ । पिक समयमा करिब २,०७७ मेगावाट पुग्ने गरेको छ । यसका कारण आपूर्ति र मागबीच ठूलो अन्तर देखिएको छ, जसलाई पुरा गर्न भारतबाट आयातमा निर्भर रहनु परेको छ ।
प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्य नियुक्त भएसँगै औद्योगिक क्षेत्रबाट लोडसेडिङ कम भएको थियो । त्यसको एक महिनापछि अब भने शाक्यले औपचारिक रूपमै औद्योगिक क्षेत्रमा हुने अनियमित विद्युत् आपूर्तिबारे स्वीकार गरेका हुन् ।
प्राधिकरणले निकट भविष्यमा नदीनालामा पानीको बहाव बढ्ने आशा रहेको र भारतबाट समेत आपूर्ति सहज हुने सम्भावनाले समस्या छिट्टै समाधान हुने दाबी गरेको छ ।
हाल भारतमा गर्मीयामसँगै इन्डियन प्रिमियर लिगका कारण विद्युत् माग उच्च छ । त्यसैले उच्च मूल्य तिर्न प्राधिकरण तयार भए तापनि नेपालले आवश्यक मात्रामा आयात गर्न सकेको छैन ।
हाल नेपालले भारतको पावर एक्सचेन्ज कमिटी (पीईसी) मार्फत अधिकतम ३५० मेगावाटसम्म आपूर्ति अनुमति पाए पनि, व्यवहारमा मैनैया–सम्पतिया १३२ केभी लाइनमार्फत दैनिक जम्मा ५० मेगावाट मात्र आयात भइरहेको छ ।
यसबीच भारतमा विद्युत् माग झनै बढेको र अन्तर्राष्ट्रिय विद्युत् एक्सचेन्ज (आईईएक्स) को दररेट पीईसीको भन्दा महँगो हुँदा नेपाललाई आवश्यक मात्रामा आपूर्ति सम्भव नभएको प्राधिकरणले जनाएको छ ।
नेपालले आईईएक्समार्फत निश्चित समयसीमामा विद्युत् खरिद गर्दै आए पनि मागभन्दा निकै कम मात्र विद्युत् उपलब्ध भइरहेका कारण समस्या यथावत रहेको हितेन्द्रले जानकारी दिएका छन् ।
प्रतिक्रिया