
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको धनगढी विमानस्थलको स्तरोन्नतीको कार्य तत्काल हुनु पर्ने बताएका छन् ।
सांसद आलेले एक विज्ञप्ति जारी गर्दै धनगढी विमानस्थलको स्तरोन्नती लागि बजेट विनियोजन भनिएता पनि आयोजनामा कुनै पनि रकम खर्च नगरी सो बजेटलाई अन्यत्र विमानस्थलमा खर्च गरिएको भन्दै दु:ख व्यक्त गरेका छन् ।
उनले भने, ‘हालसम्म धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्ने परियोजनामा नेपाल सरकारबाट कुनै पनि रकम (बजेट) खर्च नभएको प्रष्ट पार्न चाहन्छु । साथै यस घटनाले सुदूरपश्चिमवासी जनता र म स्वयंम् पनि दु:खी भएको छु । आगामी दिनमा धनगढी विमानस्थलको स्तरोन्नती हुनुपर्छ भन्ने कुरा पुन: दोहर्याउन चाहन्छु ।’
यसैगरी उनले पछिल्लो समय केही मान्छेहरू नियोजित रूपमा दुराग्रह राखेर बदनियतका साथ आफूलाई धनगढी विमानस्थलको स्तरोन्नतीसँग जोडेर कपोलकल्पित, भ्रामक लान्छना लगाई केही व्यक्तिहरुले मिडियाबाजी गरेको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।
उनले भने, ‘पोखरा विमानस्थलको घोटाला काण्डलाई विषयान्तर गर्न पछिल्लो समय भ्रष्टाचारीहरुले मेरो नाम जोडेर मिडियावाजी गरिरहेका छन् । मिडियावाजी गर्नेहरुले मैले गल्ती गरेको प्रमाण छ भने सार्वजानिक गर्न म चुनौती दिन चाहन्छु । यस्ता कार्यले देश र जनताको सेवा गर्ने मेरो भावनामा कुनै असर समेत नगर्ने कुरा अवगत गराउन चाहन्छु ।’
आफू छोटो समय (८ महिना २१ दिनको कार्यकाल) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सहर धनगढीसँग जोडिएको धनगढी विमानस्थललाई स्तरोन्नती गर्न स्थानीयस्तरको समेत आवश्यकता महसुस गरी बजेटको व्यवस्थापन भएको उनले बताए ।
‘हालको १८ सय मिटर रहेको धावनमार्गलाई २५ सय मिटरसम्म बनाउन नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकबाट २०७८/०७९ मा प्राधिकरण स्रोतबाट धनगढी विमानस्थल जग्गा अधिग्रहण गर्न ब. शि. नं.–१.१.०२ जग्गा खरिद तथा विकासको लागि रु एक अर्ब बजेट विनियोजन भएको थियो भने २०७९/०८० को वार्षिक बजेटमा नेपाल सरकारको स्रोतबाट धनगढी लगायतका विमानस्थलमा १ अर्ब २२ करोड ७५ लाख, २०८०/०८१ को प्राधिकरणको स्रोतबाट देशैभरीका विमानस्थलको लागि ९८ करोड ५० लाख र नेपाल सरकारको स्रोतबाट रु एक करोड ५० लाख मात्र विनियोजन भएको थियो,’ उनले भने ।
यसैगरी २०८१/०८२ मा प्राधिकरण स्रोतबाट चन्द्रगढी, धनगढी, काठमाडौं र भैरहवा विमानस्थलका लागि भनेर ५० करोड वजेट विनियोजन भएको थियो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको १५ अर्ब भन्दा बढीको भ्रष्टाचारको बारेमा राजेन्द्र लिङदेनको संयोजकत्वमा गठन भएको लेखा उपसमितिको सदस्य आफू पनि रहेको र त्यही भएर पोखरा विमानस्थलको घोटाला काण्डलाई विषयान्तर गर्न भ्रष्टाचारीहरुले आफ्नो नाम जोडेर मिडियावाजी गरिरहेको उनको आरोप छ ।
‘मैले गल्ती गरेको प्रमाणित भएमा जुनसुकै कारवाही भोग्न तयार छु । तर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको क्रममा भएको १५ अर्ब भन्दा बढीको भ्रष्टाचार गर्ने ठूला तथा साना कुनै पनि माछालाई छोडिने छैन् । शरिरमा एक थोपा रगत रहुन्जेल सम्म भ्रष्टाचारीहरुको पर्दाफास गरी कारवाहीको दायरामा ल्याउन लागि पर्नेछु,’ उनले भने ।
यसैगरी उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको पिक्चर आउन भने बाँकी नै रहेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।








प्रतिक्रिया