
काठमाडौं । रामदा एन्कोर काठमाडौं र अमेरिका मुख्यालय भएको अन्तर्राष्ट्रिय नेतृत्व विकास संस्था इम्प्याक्ट येसबीच सहकार्य भएको छ । नेपाली आतिथ्य उद्योगमा नेतृत्व विकासको दिशामा ऐतिहासिक कदम चाल्दै सहकार्य भएको बताइएको छ ।
उच्चस्तरीय सेवा अनुभव, कर्मचारी सशक्तिकरण र अन्तर्राष्ट्रियस्तरको नेतृत्व मापदण्ड स्थापनालाई केन्द्रमा राखेर गरिएको यो सहकार्यले नेपाली हस्पिटालिटी क्षेत्रलाई दीर्घकालीन परिवर्तनतर्फ अग्रसर गराउने विश्वास लिइएको छ । सम्झौताअनुसार इम्प्याक्ट येसले मनोविज्ञानमा आधारित व्यवहारिक तालीम, नेतृत्व सक्षमता विकास र अतिथि-केन्द्रित कार्यशैलीका अन्तर्राष्ट्रिय विधिहरू रामदा एन्कोर काठमाडौंमा कार्यान्वयनमा ल्याउनेछ ।
रामदा एन्कोर काठमाडौंका प्रबन्ध निर्देशक महेश फुयालले भने, ‘हामीलाई थाहा छ कि आतिथ्य सेवाको मुटु मानव सम्बन्ध हो । नेतृत्व विकासमा गरिएको यो लगानीले हाम्रो टोलीलाई अझ प्रेरित, सक्षम र जिम्मेवार बनाउनेछ ।’
इम्प्याक्ट येसका सह-संस्थापक कोविद पन्थीले बताए, ‘भविष्यको नेतृत्वमा सहानुभूति, उद्देश्य र अनुकूलनशीलता आवश्यक हुन्छ । यो सहकार्यले नेपालका आतिथ्य पेशेवरहरूलाई विश्व प्रतिस्पर्धामा अग्रस्थानमा पुर्याउनेछ ।’
जर्मनीका सह-संस्थापक किम बाडेनले थपे, ‘प्रभावकारी नेतृत्व सम्बन्धमा आधारित हुन्छ । यो सहकार्यमार्फत हामी रामदा एन्कोरको आतिथ्य दर्शनलाई अझ मजबुत बनाउनेछौं ।’
इम्प्याक्ट येसले श्रीलंका र संयुक्त अरब इमिरेट्सतर्फ विस्तारको योजना बनाएको छ र नेपालमा प्रयोगमा ल्याइने नेतृत्व कार्यक्रमहरू प्याक्टोमिक्स र एलईएम फ्रेमवर्कमा आधारित रहनेछन् ।
अमेरिकामा मुख्यालय रहेको इम्प्याक्ट येस एक अन्तर्राष्ट्रिय नेतृत्व विकास संस्था हो, जसले आतिथ्य उद्योगमा प्रदर्शन अभिवृद्धिका लागि मनोवैज्ञानिक विशेषज्ञता, कृत्रिम बुद्धिमत्ता, न्यूरोसाइन्स, र सकारात्मक मनोविज्ञानको संयोजन प्रयोग गर्छ । यसको उद्देश्य हो – मानव केन्द्रित नेतृत्व सशक्तीकरणद्वारा व्यवहारिक रूपान्तरण ल्याउनु ।
विन्डहम समूह अन्तर्गत सञ्चालित रामदा एन्कोर काठमाडौं–थामेल, आधुनिकता र सेवा उत्कृष्टताको समायोजन हो । होटलमा रूफटप पूल, स्पा, फिटनेस सेन्टर, विविध रेस्टुरेन्ट विकल्पहरू, र बहुउद्देश्यीय कार्यक्रमस्थलहरू उपलब्ध छन् ।








प्रतिक्रिया