प्रधानमन्त्रीले गरे ऊर्जा राज्यमन्त्री कान्छारामलाई बर्खास्त, गृहमन्त्री लेखकले गराए जानकारी

980
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरेका छन् ।

प्रधानमन्त्रीले बुधबार मन्त्री तामाङलाई पदमुक्त गरेका हुन् । उनलाई गृहमन्त्री रमेश लेखकले टेलिफोनमार्फत् बर्खास्तीको जानकारी गराएका थिए । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेको सूची राष्ट्रपति कार्यालयले समेत जारी गरेको छ जहाँ तामाङको नाम उल्लेख छैन ।

नेपाली कांग्रेसले केही समयदेखि तामाङलाई राज्यमन्त्री पदबाट राजीनामा दिन आग्रह गर्दै आएको थियो । तर, उनले राजीनामा नदिएपछि प्रधानमन्त्री ओलीले उनलाई पदमुक्त गरेका हुन् । तामाङलाई २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरिएको थियो।

तामाङ नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापति हुन् । उनी पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । उनी रामेछापबाट निर्वाचित भएका थिए ।

मन्त्रिपरिषद्को निर्णयको सार्वजनिक रूपमा आलोचना गर्दै आएका तामाङले नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा अभिव्यक्ति दिएका थिए ।

उनले घिसिङसँग मिलेर डेडिकेटेड र ट्रंक लाइन विवादमा रहेका उद्योगहरूको लाइन काट्दै हिँड्दे बताएका छन् । तामाङ र घिसिङ दुवै रामेछापका हुन् ।

उनले केही समयअघि सिँचाइ विभागको एक कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्यसँग मञ्चमा नबसिएको स्पष्टीकरण सोधेका थिए ।