७ अंकले घट्दै नेप्से २६९८ विन्दुमा, कारोबार रकम बढ्यो


काठमाडौं । सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से १६.६८ अंकले घटेर २७०६ विन्दुमा सीमित भएको थियो ।

यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार बढेको थियो । सोमबार सूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा कुल ८ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब १२ करोडको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

सोमबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, कर्पोरेट विकास बैंक र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ ।