भारतीय विद्युत मन्त्री खट्टर नेपाल आउँदै, प्रधानमन्त्रीसँग भेट्ने, अरुण-३ को अवलोकन गर्ने


काठमाडौं । भारतीय विद्युत र आवाास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् ।

मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार नेपाल आउन लागेका हुन् ।

भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर आउन लागेको बताइएको छ ।

आयोजनाको अवलोकन गरी खट्टर बुधबार स्वदेश फर्किने कार्यतालिका छ । साथै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरुण–३ को अवलोकनमा समावेश हुने बताइएको छ । उक्त कार्यक्रममा एसजेवीएनका अध्यक्ष राजकुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ ।

ऊर्जा मन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन् । खट्टरले मन्त्री खड्कासँग अन्य जलविद्युत् आयोजनामा भारतीय लगानीका साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्य तालिका छ ।

यस्तै, उनले ९ गते नै अरुण–३ जलविद्युत आयोजनाको बाँध तथा पावर हाउस क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किने छन् । सोही दिन ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत मन्त्री खट्टरले विभिन्न ठाउँका सवस्टेशन संयुक्त रूपमा उदघाट्न गर्नेछन् ।

यसैगरी दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने बताइएको छ । वैशाख १० गते मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको दर्शन गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारत फर्किने एसजेवीएनले जानकारी दिएको छ ।

एसजेवीएनले संखुवासभामा ९ सय मेगावाट क्षमताको अरुण तेस्रोको काम अहिले तीव्र गतिमा भइरहेको छ । अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगी सकेको छ । यस्तै, एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।