सांग्रिलाले निकाल्यो उत्साहप्रद वित्तीय विवरण, ४३ करोड नाफा गर्दा लाभांश क्षमता ९%

1.2k
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको ९ महिना समाप्तिसम्म ४३ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशत बढी नाफा कमाएको हो ।

सांग्रिलाले गत आवको चैत मसान्तसम्म २६ करोड २७ लाख रुपैयाँमात्र नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी घटे तापनि नाफा बढ्नुको कारण हो, नेट फि एन्ड कमिसन, अदर अपरेरिटङ इन्कम, अपरेटिङ इन्कम बढ्नु तथा गत वर्षको सोही अवधिभन्दा कम रकम प्रोभिजन गर्नु ।

बैंकले ९ महिनामा १ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आवको सोही अवधिको भन्दा २ करोड कम हो ।

तर, गत आवको भन्दा १ करोड बढी खुद फि तथा कमिसन इन्कम गरेको छ । यसैगरी करिब १६ करोड रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको अदर अपरेटिङ इन्कम ७२ लाख रुपैयाँमात्र थियो ।

यता ९ महिनामा सांग्रिलाले नोक्सानी व्यवस्थाका लागि साढे २५ करोड रुपैयाँ छुट्याएको छ । यो प्रोभिजन गत आव सोही अवधिमा गरेकोभन्दा १५ करोड कम हो । यस्तै कारण बैंकको खुद नाफामा उत्साहकजनक सुधार आएको छ ।

नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ कायम भएको छ । गत आवका यही अवधिमा बैंकको ईपीएस १०.४७ रुपैयाँ थियो । बैंकको नेटवर्थ १५२.५६ रुपैयाँ थियो ।

सांग्रिलाले हालसम्म ५४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४३ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले १ वर्षको अवधिमा निक्षे ७९ करोड र कर्जा डेढ अर्बले बढाएको हो ।

बैंकले प्रवाह गरेको कर्जामध्ये ४.९७ प्रतिशत निष्क्रिय छन् । एनपीएल अनुपात गत आवको चैतमा ३.८४ प्रतिशत थियो ।

बैंकको प्राथमिक पुँजीकोष अनुपात १०.५७ प्रतिशत रहेको छ ।

नाफा बढ्दा सांग्रिलाको वितरणयोग्य नाफा वा सञ्चित मुनाफा २४ करोड ३ लाख पुुगेको छ । यो रकमबाट बैंकले ९.०१ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।