
काठमाडौं । कृषि विकास बैंकको नाफा २० करोड ८८ लाख रुपैयाँले घटेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा यो बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.१६ प्रतिशतले घटेको छ ।
बैंकले यो वर्षको चैतसम्ममा १ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यस्तो नाफा गत वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी ७ अर्ब २० करोड रुपैयाँबाट घटेर ६ अर्ब १२ करोड रुपैयाँमा सिमित भएको छ । खुद सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ छ । यस्तो सञ्चालन आम्दानी गत वर्ष पनि ६ अर्ब ७९ करोड रुपैयाँ नै थियो ।
यो बैंकले कर्जा तथा नोक्सानी व्यवस्थाका लागि ९१ करोड ६८ लाख रुपैयाँ छुट्याएको छ । यो बैंकको चैत मसान्तसम्म वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । यस्तो वितरणयोग्य नाफा गत वर्षको चैतसम्ममा १ अर्ब १२ करोड रुपैयाँ थियो ।
१९ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो बैकको जगेडा कोषमा १५ अर्ब ४९ करोड रुपैयाँ रुपैयाँ छ । २ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर यो बैंकले चैतसम्ममा २ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रति सेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा रहेको यो बैंकको निष्कृय कर्जा अनुपात ४.९८ प्रतिशत रहेको छ । यसको प्रति सेयर खुद मूल्य २१७ रुपैयाँ ७३ पैसा रहेको छ ।







प्रतिक्रिया