राप्रपा अध्यक्ष लिङ्देनले भने: शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ


काठमाडौं । राजतन्त्रको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज निषेधित क्षेत्र तोड्ने भएसँगै व्यवस्था कडा पारिएको छ । राप्रपाका नेताले भने प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सरकारलाई नडराउन आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौंको बिजुलीबजारमा हुने प्रदर्शन सरकारविरुद्धको प्रतीकात्मक र शान्तिपूर्ण हुने बताए । उनले यसप्रकारको प्रदर्शनबाट सरकार डराउनुपर्ने अवस्था नरहेको समेत उल्लेख गरेका छन् ।

राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने मागसहित राप्रपाले आयोजना गरेको यो प्रदर्शनलाई लिएर सरकारले निषेधित क्षेत्रको सीमा तोकिसकेको छ । राप्रपाले भने यसअघि नै निषेधित क्षेत्र तोड्ने निर्णय सार्वजनिक गरिसकेको छ ।

गृहमन्त्रालयले राप्रपाको योजनाप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र उल्लङ्घन गर्न खोजे कानुनी कारबाही हुने चेतावनी दिएको छ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष लिङ्देनले भनेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई बोल्न, हिँड्न र विरोध जनाउन सीमा तोक्ने सरकारी निरंकुश प्रवृत्तिको विरुद्धमा हाम्रो शान्तिपूर्ण प्रदर्शन हुनेछ। जहाँ सीमित नेताहरू मात्र सहभागी हुनेछन्।’

उनले राप्रपालाई वैचारिक रूपमा मुलुकको प्रमुख प्रतिपक्ष पार्टीको रूपमा चित्रण गर्दै भनेका छन्, ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ।’

यसअघि चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा राप्रपाका नेताहरूको समेत उपस्थिति थियो । त्यसपछि चैत २६ गते बल्खुमा गरिएको राप्रपाको प्रदर्शन भने शान्तिपूर्ण थियो ।

आजको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय र सुरक्षानिकायले विशेष सुरक्षा रणनीति लागू गरेका छन् । निषेधित क्षेत्र उल्लङ्घनको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था थप कडा पारिएको छ।