रानी जमरा कुलरिया सिँचाइ आयोजनामा १९ अर्ब ऋण थप्दै सरकार


काठमाडौं । सरकारले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणको लागि अर्बौ रकम सहुलियतपूर्ण ऋण थप्ने भएको छ ।

सरकारले सिँचाइ आयोजना तेस्रो चरणको लागि १३ करोड सात मिलियन अमेरिकी डलर (१८ अर्ब ७६ करोड रुपैयाँबराबर) सहुलियतपूर्ण ऋण लिनको लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

सरकारले आयोजनाका लागि पटक–पटक समय थप गर्दा लागत समेत बढेको अवस्थामा पुनः सरकारले सहुलियतपूर्ण ऋण लिन लागेको हो । आयोजनाको प्रारिम्भक लागत १२ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । आयोजनाको संशोधित लागत २७ अर्ब ७० करोड २४ लाख रुपैयाँ रहेको छ ।

सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०७६/६८ मा सुरु गरिएको आयोजनाको भौतिक प्रगति ४१.५८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षसम्म आयोजनाको भौतिक प्रगति ४१.५८ प्रतिशत र वित्तीय खर्च २० अर्ब पाँच करोड ३० लाख रुपैयाँ रहेको छ ।

भौतिक प्रगतिअन्तर्गत १४ किलोमिटर लम्की नहर निर्माणसम्पन्न भएको छ । साथै तीनवटा पुल र ‘डेस्लेटिङ बसिन र फिडर क्यालन’ निर्माणसम्पन्न गरिएको छ । आयोजना समयमा सम्पन्न नभएसँगै समय र लागत बढ्दै गएको छ । योसँगै सरकारले आर्थिक वर्ष २०८२/८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

जुन नयाँ समय हो । हाल पुल निर्माणकार्य भइरहेको आयोजनाका सूचना अधिकारी नवीन पौडेलले जानकारी दिए । उनका अनुसार आयोजना निर्माण गरेका पूर्वाधारहरूको सुदृढीकरण निर्माण सामग्रीको दरमा परिवर्तन र आयोजना अघि बढाउनको लागि लागत बढ्न पुगेको हो । आयोजनाका पूर्वाधारतर्फ प्रगति वृद्धिदर सकारात्मक रहेको छ ।

कैलाली जिल्लाका टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका (साबिकका आठ गाविस पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंहपुर, नारायणपुर, बलिया र मुनुवा) का दुई लाख जनसंख्यालाई सिँचाइलगायतका सुविधा उपलब्ध गराउने आयोजनाको उद्देश्य हो ।

जसअन्तर्गत रानी जमरा कुलरिया सिँचाइ प्रणालीको १४ हजार तीन सय हेक्टर, नयाँ शाखा नहर विस्तार (लम्की विस्तार)को छ हजार हेक्टर र सिञ्चित क्षेत्र विस्तारअन्तर्गत पथरैयादेखि कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर गरी जम्मा ३८ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउनु रहेको छ । हाल २० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको बताइएको छ ।

अयोजना सुरु भएको आठ वर्षपछि २०७६ साउनमा रानी–जमरा–कुलरिया सिँचाइ कुलोको प्रारम्भिक परीक्षण गरिएको थियो । हाल सिँचाइ आयोजनाको नहरबाट चार दशमलव ७१ मेगावाट बिजुली उत्पादन सुरु गरेर उत्पादित बिजुली २०८० माघदेखि लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको छ ।

यसका साथै मन्त्रिपरिषद्ले साना सिँचाइ कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८.८ लाख स्वीस फ्रयांक प्राप्त गर्ने निर्णय गरेको छ ।