
काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
बिहीबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस सूचीको अग्रस्थानमा खापुङ रहेका छन् ।
खापुङ, आचार्य र पोखरेल प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापासँगै २०५२ सालको कात्तिक २७ गते प्रहरी सेवामा प्रवेश गरेका ब्याचमेट हुन् । उनीहरू २०८० साल वैशाख ६ गते डीआईजीमा बढुवा भएका थिए ।
त्यस्तै, कार्की, अधिकारी र डा. केसीले भने २०५४ साल चैत १८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको नेतृत्व गरी डा. मनोज कुमार केसी चर्चामा आएका हुन् । सोही प्रकरणको अनुसन्धान र अभियोजनको क्रममा दानबहादुर कार्की काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखका रूपमा जिम्मेवारीमा थिए ।

प्रतिक्रिया