प्रचण्डलाई प्रदीप ज्ञवालीले भने: पार्टी लोकप्रिय भएकाले ‘अर्ली चुनाव’ माग्छन्, सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन्

1.1k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता मोहप्रतिको अधैर्यता र दोहोरो चरित्र भन्दै आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रचण्डको पछिल्ला अभिव्यक्तिहरूप्रति व्यङ्ग्य गर्दै गम्भीर प्रश्न उठाएका छन् ।

ज्ञवालीले लेखेका छन्, ‘एकातिर प्रचण्ड कार्यकर्तालाई भन्नुहुन्छ– ‘२०६४ जस्तो लहर आइरहेको छ, २०८४ मा देखाइदिन्छौँ, अहिले त सरकारतिर हेर्ने फुर्सद पनि छैन।’ अर्कातिर भने हप्तैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी गर्दै हिँड्नु भएको छ । अहिले सम्म त्यस्ता भविष्यवाणीको सातौँ संस्करण आइसकेको छ ।’

ज्ञवालीले यति भनिसकेपछि ओशोले सुनाएको कथा उद्धृत गरेका छन्, जहाँ दुई ब्रह्मचारीमध्ये एकले मानवीय सहानुभूतिका आधारमा एक महिलालाई काँधमा बोकेर उर्लिएको नदी पार गरिदिन्छ भने अर्काले त्यसो नगर्न बारम्बार सम्झाउँछ, तर पछि पनि त्यस महिलाको भिजेको लुगा, तिघ्रा आदि सम्झँदै बाटोभरि नै लाञ्छना लगाउँछ । उत्तरमा भनेको छ– ‘मेरो दिमागबाट त ती महिला उहिल्यै हराइसकिन्, तर तँ अझै पनि त्यसैमा अल्झिएको छस् ।’

ज्ञवालीले सत्ता मोहबाट मुक्त छु भन्ने प्रचण्ड नै वास्तवमा त्यसप्रति सबैभन्दा बढी आकषिर्त भएको टिप्पणी गरेका छन् ।

उनले प्रचण्डको विगतका सत्ता समीकरणहरू पनि स्मरण गराएका छन्– “२०७४ मा कांग्रेससँग सरकारमा रहेर एमालेसँग तालमेल गर्नु ‘नैतिक’ थियो, त्यसपछि कांग्रेसलाई सत्तामा ल्याउन अदालतमा मुद्दा हालेको कदम ‘सैद्धान्तिक’ थियो, अनि २०७९ मा पाँच दल मिलेर चुनाव लडेर एमालेको साथमा प्रधानमन्त्री बन्नु पनि ‘सङ्गतिपूर्ण’ थियो । त्यस अवधिमा तीनपटक सत्ता गठबन्धन फेरिनु पनि ‘शुद्ध राजनीतिक परिघटना’ थियो, किनभने हरेक समीकरणमा ‘पारसमणि’को जस्तो प्रभाव त प्रचण्डकै थियो, जसले छोएपछि फलाम पनि सुन बन्थ्यो !’

ज्ञवाली भन्छन्– संसद्मा बहुमत जुटाउनेले सरकार बनाउँछन्, यसलाई अत्यधिक सैद्धान्तिककरण गर्नु आवश्यक छैन । बरु, सत्ता समीकरणमार्फत पार्टीले आफ्नो नीति–कार्यक्रम अघि बढाउने प्रयास गर्नु स्वाभाविक हो । तर, आफू बलियो र लोकप्रिय छ भन्ने ठानेका नेताले त अर्ली इलेक्शन माग्छन्, ‘कहिले सरकार ढल्छ’ भनेर कुर्दैनन् ।

अन्त्यमा ज्ञवालीले भनेका छन्, ‘बुढापाकाले त्यसै त भन्दैनथे– खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी हो !’

यस्तो छ ज्ञवालीको स्टाटस

कामरेड ‘प्रचण्ड‘ को सत्ता अधीरता अचम्म लाग्दो छ । एकातिर कार्यकर्ताका बीचमा भन्नुहुन्छ– ‘हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौँ, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन ।’ अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न । भर्खरै त्यस्तै भविष्यवाणीको संभवतः सातौँ संस्करण सार्वजनिक भएको छ ।

ओशोले कतै सुनाएको कथा छ, दुई बालब्रह्मचारीहरु बारे । गुरुले ‘हेर है बाबु हो, स्त्रीहरुतिर फर्केर पनि नहेर्नू ’ भनेर सिकाएका रहेछन् । एकदिन कतै जाँदै गर्दा उनीहरूले नदी किनारमा एकजना महिला रोइरहेको भेटेछन् । वर्षातको नदी उर्लिरहेको थियो र उनी नदीपारी घरमा रहेको दुधे बालकको मायाले विह्वल भइरहेकी थिइन् । उनले ती सन्यासीहरुलाई पारी तारिदिन अनुनय विनय गरिन् । पहिलोले त त्यता हेर्दा पनि हेरेन, दोस्रोले चाहिँ ती आमाको पीडा सहन गर्न नसकेर काँधमा बोकेर पारी तारिदियो, अर्कोले त्यसो नगर भन्दाभन्दै पनि ।

पारी तरिसकेपछि पहिलोले दोस्रोलाई आक्षेप लगायो– तैँले गुरु वचन तोडिस्, स्त्रीप्रति आशक्त भइस् । दोस्रोले धेरै पल्ट सम्झाउने कोशिस गर् यो, ‘होइन भाइ, मैले त विशुद्ध मानवीय नाताले पारी तारिदिएको हुँ ।’ तर पहिलोले पिछा छाडेन । ‘त्यस आइमाईको लुगा भिजेको थियो, तिघ्रा देखिएको थियो, तँ पक्कै बिटुलिएको हुनुपर्छ’ भन्दै गाली गर्न थालेपछि पहिलोले भनेछ– ‘भाइ, मेरो दिमागबाट त ती महिला उहिल्यै हराइसकिन् । तर तँ चाहिँ पक्कै आशक्त रैछस्, किनभने तैँले उनलाई एउटी आमाका रुपमा होइन, भोग्या स्त्रीका रुपमा हेरिस् र अझ पनि त्यही कल्पेर बसिरहेको छस् । तँसँग आजबाट मेरो बाटो फाट्यो।’

प्रचण्ड सरको सत्ता अनाशक्ति पनि यस्तै केही होला !

उहाँले एमाले– काँग्रेस सहकार्यलाई दुई तिहाईको होइन,’षडयन्त्रको सरकार’ भन्न भ्याउनु भएछ । हो नि सर, २०७४ सालमा नेपाली काँग्रेससँग सरकारमा रहँदारहँदै एमालेसँग वाम तालमेल गर्नु पनि एकदमै ‘नैतिक’ थियो, नेकपाको दुई तिहाइको सरकार ढालेर नेपाली कांग्रेसलाई सत्तामा पुर्याउन अदालतमा हालिएको मुद्दा पनि ‘सैद्धान्तिक’ नै थियो, पाँच दलीय गठबन्धनका आधारमा चुनाव लडेर २०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पनि एकदमै ‘सङ्गतिपूर्ण‘ थियो र त्यसै अवधिमा तीन–तीन पटक सत्ता– सहयात्री फेर्नु पनि ‘शुद्ध राजनीतिक परिघटना’ थियो । किनभने त्यहाँ ‘पारसमणि’ का रुपमा यहाँ हुनुहुन्थ्यो, सरले छोएपछि त फलाम पनि सुन नै बन्ने भयो नि !

हङ पार्लियामेन्टभित्र सङ्ख्या जुटाउनेले सरकार बनाउँछन् । यसलाई असाध्यै धेरै सैद्धान्तिकरण गर्नु बाञ्छनीय हुँदैन । निःसन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरुले आफ्ना लक्ष्य र उद्देश्यहरु हासिल गर्ने अधिकतम कोशिस गर्छन्।

यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरुले ‘अर्ली चुनाव‘ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन् । बुढापाकाहरु त्यसै भनेका होइनन् नि– खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी हो !

Skip This