नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

84
Shares

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०.८१ को (साउन–चैत) महिनामा दुई अर्ब १७ करोड १९ लाख तीन हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए ।

चालु आव २०८१र८२ मा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए ।

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको नौ महिनाको लक्ष्यको ८१.४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताए । कार्यालयले नौ महिनामा आयकरबाट एक अर्ब सात करोड ९४ लाख ९४ हजार, ब्याजबापत सात करोड १९ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत ७६ करोड ७१ लाख नौ हजार र अन्तःशुल्कबापत ३९ करोड ९७ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी एक करोड ७५ लाख असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिए ।

‘कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैङ्क खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही पनि गरिएको छ’, उनले बताए ।