त्रिभुवन विमानस्थलमा युवकमाथि दुर्व्यवहार: तीन प्रहरी कारबाहीमा

2.1k
Shares

काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा स्वदेश फर्किएका एक युवकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्व्यवहार गर्ने तीन जना प्रहरी कारबाहीमा परेका छन् ।

गत आइतबार दुबईबाट फर्किएका धनुषाका सञ्जय ओझामाथि प्रहरीले दुर्व्यवहार गर्दै लछारपछार र बुट प्रहार गरेका थिए ।

सो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीप्रति तीव्र आलोचना भएको थियो । आलोचनापछि ती प्रहरीलाई तत्काल जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विमानस्थल प्रहरीका प्रवक्ता एसपी लालध्वज सुवेदीका अनुसार ट्रली लैजाने विषयलाई लिएर विवाद सुरु भएको थियो । आगमन क्षेत्रको पार्किङसम्म ट्रली लैजाँदा एक कर्मचारीले त्यहाँ लैजान नमिल्ने बताएपछि युवकले आफूलाई जानकारी नभएको जवाफ दिएका थिए।

उक्त घटनामा युवकले भिडियो खिच्न थालेपछि झगडा चर्किएको र त्यसक्रममा तीन प्रहरीले उनलाई नियन्त्रणमा लिई वेटिङ रुममा लगेका थिएइ । त्यही क्रममा युवकमाथि मुक्का र लात्ती प्रहार गरिएको भिडियोमा देखिन्छ। केही समयपछि उनलाई प्रहरीले छाडेको थियो।

उपत्यका प्रहरी कार्यालयका अनुसार प्रारम्भिक छानबिनमै प्रहरीद्वारा अनावश्यक बल प्रयोग भएको पुष्टि भएपछि ती प्रहरीलाई जिम्मेवारीमुक्त गरिएको हो । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।