संघीय संसद्को अधिवेशन वैशाख १२ गतेका लागि आह्वान


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आगामी वैशाख १२ गतेका लागि आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन बोलाएका हुन् । अधिवेशन नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजे सुरु हुनेछ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ साल वैशाख २ गतेको सिफारिसमा राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख १२ गते शुक्रबारका दिन दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको छ।’

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।