
चतरा (सुनसरी) । कोशी सम्झौताको खुशीमा भारतले उपहार स्वरूप निर्माण गरिदिएको सुनसरी–मोरङ सिँचाइ योजनाको मूल नहरमा यसपालिदेखि हिउँदमा कोशीको पानी बग्न छाडेको छ ।
मुलुककै ठूलो यो सिँचाइ योजनाले सुनसरी र मोरङका ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दै आएको छ । कोशीको पानी बेड योजनाको इन्टेकभन्दा झण्डै साढे तीन मिटर तल झरेपछि मुहान सुक्दा योजनाको मूल नहरमा पानी बग्न छाडेको योजनाका प्राविधिकहरूको भनाइ छ ।
वर्खायाममा यो योजनाको मूल नहरमा प्रतिसेकेन्ड ६० क्यूमेक र विगतमा हिउँदमा २२–२५ क्यूमेक पानी बग्थ्यो । यसपालि हिउँदमा मुस्किलले ४ क्यूमेक पानी बगेको छ । योजनाको इन्टेक हेर्ने इन्जिनियर अनिश कालीकोटेले क्लिकमान्डुसँग भने, ‘योजनाको मुहानमा नै पानी बग्न छाडेपछि मूल नहरमा पनि पानी बग्न छाडेको हो ।’

यही योजनाको सिँचाइको भरमा सुनसरी र मोरङमा सरदर ५० हजार हेक्टरमा हिउँदे बाली मकै, गहुँ र चैते धानको खेती हुने गर्छ । त्यसका लागि योजनाको इन्टेकमा कम्तीमा २२–२५ क्यूमेक पानी बग्नुपर्ने कालीकोटेले बताए । तर अहिले मुस्किलले ४ क्यूमेक मात्र पानी बग्दा योजनाले हिउँदे बालीलाई सिँचाइ दिन सकेको छैन ।
यसवेला कोशीको पानीको सतह (बेड) योजनाको मुहान इन्टेकको (क्रेष्ट) भन्दा झण्डै साढे तीन मिटर तल छ । कालीकोटेको प्रश्न छ – ‘अनि योजनाको मुहान र मूल नहरमा कहाँबाट पानी आएर बग्छ त?’
किन सुक्यो मुहान?
२०६५ भदौ २ गते कोशीको पूर्वी तटबन्ध फुटेपछि नदीको सतह गहिरिँदै गयो । यसको असर योजनाको इन्टेकमा पर्यो ।कोशीको बेड लेभल (पानीको सतह) होचिँदै जाँदा हिउँद तथा सुख्खा याममा योजनाको मुहानमा पानीको सतह घट्ने क्रम सुरु भयो ।

त्यति मात्र होइन, योजनाको इन्टेकदेखि करिब ३०० मिटर उत्तरमा कोशीको नयाँ पुल बनाउने क्रममा पूर्वतर्फको कफर ड्याम नहटाउँदा पानीको धार पश्चिमतर्फ मोडियो । योजनाका इन्जिनियर कालीकोटेका अनुसा, त्यसले पूर्वतर्फ रहेको योजनाको मुहान हिउँदमा सुकाउन थप मद्दत गर्यो ।
हिउँदमा योजनाको मुहान सुकेर मूल नहरमा पानी बग्न छाडेपछि योजनाले मुहानमा पानी फर्काउन हालसम्म अस्थायी रूपमा झण्डै ६० करोड रुपैयाँ खर्च गरिसकेको छ । तर आवश्यकता अनुसार पानी नआउँदा समस्या जस्ताको तस्तै रहेको कालीकोटेले बताए ।
योजनाको मुहान पूर्वतर्फ छ, तर हिउँदमा कोशीको पानी पश्चिमतर्फ बग्छ । त्यसैले हिउँदमा पूर्वतर्फको मुहानमा पानी फर्काउन योजनाले कोशीको पश्चिमतर्फ करिब ६० करोडको लागतमा ८ वटा स्पर निर्माण गरिसकेको छ । तीमध्ये तीन वटा स्पर र मुहान छेउका आइल्यान्ड यसपालिको बाढीले बगाएपछि समस्या झनै बढेको छ ।
कालीकोटेले भने, ‘हिउँदमा आवश्यकता अनुसार सिँचाइको व्यवस्था गर्न स्थायी विकल्प नखोजिए यही अवस्थामा योजनाबाट हिउँदमा मूल नहरमा पानी बग्ने स्थिति छैन ।’
यसपालिपनि योजनाले मुहानदेखि करिब ५०० मिटर उत्तर–पश्चिमतर्फ झण्डै २६ लाखको लागतमा रिभर बेड मेटरियल (आरबीएम) बाँध बाँधेर पानी फर्काउने प्रयास गर्यो । तर आवश्यकता अनुसार पानी फर्केन । योजनाका अर्का सबइन्जिनियर आमरेन्द्र मण्डलका अनुसार, मुस्किलले ४ क्यूमेक पानी फर्कियो । त्यो पानीले हिउँदे सिँचाइ सम्भव भएन ।
अब यसको स्थायी विकल्प भनेको हालको स्थानबाट करिब ८०० मिटर उत्तरमा योजनाको इन्टेक सार्नु वा हालको इन्टेक क्षेत्रमा नयाँ ब्यारेज बनाउनु बाहेक विकल्प छैन भन्ने योजनाका प्राविधिकहरूको बुझाइ छ ।

कसरी बन्यो यो सिँचाइ योजना?
कोशी सम्झौतापछि सन् १९७५ मा भारतले उपहारस्वरूप कोशी नदीको पूर्वपट्टि चतरामा प्रति सेकेन्ड ४५.३ क्यूमेक पानी फ्याल्ने साइड इन्टेक बनाइ ५२ किलोमिटर लामो मूल नहर, ११ वटा शाखा नहर र ३६ वटा माइनर नहर निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको थियो ।
त्यसपछि २०३५ सालदेखि सरकारले विश्व बैंकको ऋण सहयोगमा चरणबद्ध रूपमा योजनाको विकास गर्दै अहिलेको अवस्थामा ल्याएको हो ।
पहिलो चरणमा (२०३५–२०४३) विश्व बैंकको ४ करोड डलर र सरकारको ४० लाख डलरसहित ५७ करोड ९१ लाख ३० हजारको लागतमा सुनसरीको सुखसेना शाखादेखि दक्षिण शंखरपुर शाखासम्मको ९,७५० हेक्टर क्षेत्रमा कमाण्ड क्षेत्र विकास गरिएको थियो ।

दोस्रो चरणमा (२०४५–२०५२) विश्व बैंकको ४ करोड डलर र सरकारको ९९ लाख डलरसहित १ अर्ब ९२ करोड ६० लाख ७६ हजारको लागतमा झुम्कादेखि दुहवी माइनरसम्मको १६,६०० हेक्टर क्षेत्रमा कमाण्ड क्षेत्र विकास गर्दै सेटलिङ बेसिन तथा चतरा मूल नहरको सर्भिस रोडको व्यवस्था गरिएको थियो ।
तेस्रो चरणमा विश्व बैंकको २९.४० मिलियन र सरकारको ९.८० मिलियन गरी ३९.२० मिलियन अमेरिकी डलरले चतरा मूल नहरको सुदृढीकरण, विराटनगर शाखादेखि हरिनगरा शाखासम्मको १३,६११ हेक्टर क्षेत्रमा कमाण्ड क्षेत्र विकास र मोरङको बुढी खोलाको एक्वाडक्ट मर्मत गरिएको थियो ।
अन्तिम चरणमा सन् १९९२–१९९७ सम्म पुरानो इन्टेकदेखि १,३०० मिटर उत्तर ६० क्यूमेक क्षमताको हालको भूमिगत साइड इन्टेक निर्माण गरी आवश्यक संरचना तयार गरिएको थियो । त्यसमा विश्व बैंकको २ करोड ८० लाख र सरकारको १६ लाख ८० हजार डलरसहित कुल १ अर्ब ४४ करोड १० लाख ७३ हजारको लागत लागेको थियो ।
हालको ५३ किलोमिटर लामो मूल नहरमा ८ वटा सुपर पासेज, ३६ वटा एक्वाडक्ट, २ वटा साइफन, १६ वटा कन्ट्रोल क्रस रेगुलेटर छन् । ती सबै जीर्ण छन्, र मर्मत तथा नयाँ संरचना निर्माणमा करोडौँ खर्च भइरहेको छ ।
नयाँ ब्यारेजको परिकल्पना कागजमै सीमित
हिउँदमा मूल नहरमा पानी नै नआएपछि स्थायी समाधानको विकल्पस्वरूप सिँचाइ विभागले पाँच वर्षअघि कोशी नदीको चतरामा नयाँ ब्यारेज निर्माण गर्न विस्तृत अध्ययन (डिपिआर) सुरु गरेको थियो ।
हाइड्रो कन्सल्ट, इटिको र टीएमएसको संयुक्त परामर्शदाता नियुक्त गरेर ती कम्पनीहरूलाई २ वर्षभित्र ३ करोडको लागतमा डिपिआर तयार गर्ने जिम्मा दिइएको थियो ।

कोशीको धार पश्चिमतर्फ गहिरिँदै जाँदा मुलुककै ठूलो सिँचाइ योजनाको मुहान सुक्दै गएपछि विभागले योजनाको इन्टेक आसपास ब्यारेज निर्माण गरेर दीर्घकालीन सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखेको थियो ।
चतरामा ब्यारेज बनेमा हाल सिँचाइ भइरहेको ६८ हजार हेक्टरबाहेक सुनसरी–मोरङमा थप २० हजार र सप्तरी–सिरहामा ३० हजार हेक्टरमा सिँचाइ पु-याउने लक्ष्य विभागले राखेको थियो ।
परामर्शदाताले प्रारम्भिक अध्ययन गरी योजनाको हालको इन्टेकभन्दा माथि रहेको कोशी पुलदेखि ७ सय मिटर उत्तरको २१५ मिटर, पुलदेखि दक्षिणतर्फ ३५८ मिटर, त्यसभन्दा करिब १ किलोमिटर दक्षिणको ४७० मिटर चौडाइ भएको स्थान पहिचान गरी प्रतिवेदन बुझाइसकेको छ ।

तर सिँचाइ विभाग र मन्त्रालयले उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरेका छैनन् । विभाग स्रोतका अनुसार भारतको स्वीकृति अनिवार्य भएकाले भारतले स्वीकृति नदिँदा उक्त प्रतिवेदन कुनामा थन्किएको छ । हिउँदमा स्पर निर्माण गरेर मुहानमा पानी फर्काउने र जीर्ण संरचना मर्मत गर्दै योजना चलाइँदै आएको छ ।








प्रतिक्रिया