बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ

854
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मौसमी कारण वा हावाहुरीका कारण केही समयका लागि विद्युत आपूर्तिमा आएको अवरोधलाई लोडसेडिङको रूपमा व्याख्या गर्नु भ्रामक र अतिरञ्जित हुने जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले हाल देशका विभिन्न क्षेत्रमा परेको हावाहुरी तथा प्रि-मनसुन वर्षाका कारण केही स्थानमा विद्युत सेवा छोटो समयका लागि अवरुद्ध हुन गएको स्पष्ट पारेको छ । यस्तो अवस्थालाई ‘लोडसेडिङ’ भन्नु सत्यपरक नहुने भन्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।

‘मौसमी प्रतिकूलताका कारण विद्युत सेवा अस्थायी रूपमा अवरुद्ध भएका स्थानहरूमा सेवा पुनः सञ्चालनका लागि देशभरका वितरण केन्द्रबाट दिनरात मरम्मत र सुधार कार्य भइरहेको छ। अधिकांस स्थानमा विद्युत आपूर्ति पुनःस्थापित भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणले विद्युतीय संरचनामा क्षति देखिएको खण्डमा तत्काल सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन उपभोक्ताहरूलाई अनुरोध गरेको छ ।