
काठमाडौं । विगतको तुलनामा यसपटक नेपालबाट निर्यात हुने विद्युत घटेको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १० अर्ब ४५ करोड ६८ लाख रुपैयाँको विद्युत भारतमा निर्यात भएको छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ५५ करोड ६९ लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा नेपालबाट भारतमा १३ अर्ब १ करोड ३७ लाख रुपैयाँमा विद्युत निर्यात भएको थियो ।
नेपालका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण पनि नेपालले विद्युत निर्यात गर्न नसक्दा विद्युत बिक्रीबाट हुने आय घटेको छ ।
विद्युत प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकार असोज ११ र १२ गते आएको अविरल वर्षापछिको बाढी पहिरोले केही जलविद्युत आयोजनामा क्षति पुगेको र त्यसको असर देखिएको बताउँछन् । असोज ११ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो ।
उक्त समयमा आएको पहिरोले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा आंशिक्ष क्षति भयो । आयोजनाको विद्युत उत्पादन ८८ दिनपछि मात्रै सुरु भयो ।
असोज ११ गते साँझ ७ बजेदेखि आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो । जसको असर नेपालले विद्युत निर्यातबाट हुने आयमा परेको छ ।
प्रवक्ता शिल्पकार माथिल्लो तामाकोशीमा बाढीले पुर्याएको क्षति र यो वर्ष वर्षायाममा विद्युत अघिल्ला वर्षको जति बिक्री गर्न नसकेको बताउँछन् । त्यसको असर विद्युत बिक्रीबाट हुने आयमा देखिएको छ ।







प्रतिक्रिया