
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर ट्यारिफ (कर) घोषणा गर्दै ‘रोजगार र कारखाना फेरि गडगडाएर फर्किने’ दाबी गरेका थिए ।
यी टारिफहरू लागू भइसकेका छन् जसका कारण लुगा, इलेक्ट्रोनिक्सजस्ता सामानहरूमा मूल्य निकै बढ्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती मूल्य मुख्यतया अमेरिकी उपभोक्ताले नै तिर्नुपर्नेछ । एकजना प्रमुख प्रविधि विश्लेषकले यदि आइफोन अमेरिकामै उत्पादन गरियो भने यसको मूल्य करिब ३५०० अमेरिकी डलर (४ लाख ७८ हजार) सम्म पुग्न सक्ने चेतावनी दिए ।
राष्ट्रपति ट्रम्प र उनका आर्थिक सल्लाहकारहरूले यी शुल्कका कारण धेरै रोजगारीहरू अमेरिकामै फर्कनेछन् र लाखौं अमेरिकीलाई रोजगारी मिल्ने तर्क गरेका छन् ।
तर, वेडबश सेक्युरिटीज भन्ने वित्तीय सेवा कम्पनीका प्रविधि अनुसन्धान प्रमुख ड्यान आइभ्सले सीएनएनसँग ने, ‘यो कल्पनामा बनाइएको कथा हो ।’
अहिले एशियामा रहेको जटिल उत्पादन संरचना (सप्लाई चेन) अमेरिका ल्याउने हो भने त्यो धेरै खर्चिलो हुने उनी बताउँछन् । ‘तपाईंले त्यो सप्लाई चेन अमेरिका, वेस्ट भर्जिनिया वा न्यू जर्सीमा बनाउनु भयो भने, आइफोनको मूल्य ३,५०० डलर पर्छ,’ उनले भने।
तेस्रो देशमा उत्पादन भएको सप्लाई चेनलाई अमेरिका सार्न एप्पलले करिब ३० अर्ब डलर खर्च गर्नुपर्नेछ र जम्मा १० प्रतिशत उत्पादन मात्र सार्न पनि तीन वर्ष लाग्नेछ।
स्मार्टफोनका भागहरू बनाउने र जोड्ने काम दशकौँअघि एशियामा सारिएको थियो । त्यसयता अमेरिकी कम्पनीहरूले सफ्टवेयर विकास र डिजाइनतर्फ ध्यान केन्द्रित गरे, जसबाट धेरै फाइदा हुन्छ । यही कारणले एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक बनेको हो।
ट्रम्पले कार्यभार सम्हालेयता एप्पलको सेयर मूल्य करिब २५% ले घटिसकेको छ । टारिफका कारण यसको चीन र ताइवानमा निर्भर सप्लाई चेनमा परेको असर । करिब ९० प्रतिशत आइफोनहरू चीनमै बनेका छन् ।
ड्यान आइभ्सले भने, ‘त्यही कारण हो, एप्पलको सेयरमा यस्तो गिरावट देखिएको । टारिफको आँधीमा सबैभन्दा बढी प्रभावित कम्पनी भनेकै एप्पल हो । यो प्रविधि उद्योगका लागि आर्थिक विपत्ति नै हो ।’
आइफोनका चिपहरू मुख्य रूपमा ताइवानमा बनाइन्छन् । स्क्रिन भने दक्षिण कोरियाली कम्पनीहरूले आपूर्ति गर्छन् । केही अन्य भागहरू चीनमा बनाइन्छन् भने अन्तिम रूप दिनेको काम पनि त्यही हुन्छ।
फेब्रुअरीमा एप्पलले आगामी चार वर्षमा अमेरिका भित्रै ५०० अर्ब डलर लगानी गर्ने घोषणा गर्यो, जसको उद्देश्य चीनबाहिर पनि उत्पादन विस्तार गर्नु र टारिफबाट बच्नु हो ।
प्रविधि विश्लेषकहरू जहाँ उत्पादन गरे पनि, आइफोनको मूल्य बढ्ने नै बताउँछन् । रोसेनब्लाट सेक्युरिटीज नामक एक लगानी बैंकका अनुसार यदि टारिफको सम्पूर्ण असर ग्राहकमा थोपारियो भने आइफोन ४३ प्रतिशतसम्म महँगो हुन सक्छ ।
काउन्टरपोइन्ट रिसर्चका उपाध्यक्ष नील शाहका अनुसार आइफोनको मूल्य करिब ३० प्रतिशतले बढ्न सक्ने तर यो पनि उत्पादन कहाँ हुन्छ भन्ने कुरामा भर पर्ने बताउँछन् ।
एप्पलले यसअघि चीन बाहेक भारत र ब्राजिलमा पनि उत्पादन विस्तार गर्ने प्रयास गरेको छ । भारतमा २६ र ब्राजिलमा १० प्रतिशत टारिफ लाग्छ । यद्यपि ब्राजिलमा टारिफ कम भए पनि चीनले पुर्याउने उत्पादन क्षमता ब्राजिलसँग नभएको शाहको भनाइ छ ।








प्रतिक्रिया