ट्रम्पको थप ५०% भन्सार लगाउने धम्कीबाट नडराउने भन्दै बेइजिङले भन्यो ‘अन्तिमसम्म लड्छौ’

217
Shares

काठमाडौं । अमेरिकी उत्पादनमा ३४ प्रतिशत भन्सार लगाउने चीनको घोषणा फिर्ता लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अल्टिमेटम मंगलबार सकिदैछ । ट्रम्पले गत साता सबै प्रकारका वस्तुहरूको आयातमा १० प्रतिशतको विश्वव्यापी आधारभूत भन्सार लगाउने निर्णय गरेका थिए ।

आयातमा भन्सार लगाउने निर्णयसँगै ट्रम्प प्रसाशनले चिनियाँ उत्पादनमा ३४ प्रतिशत कर लगाएसँगै त्यसको प्रतिकार स्वरुप बेइजिङले पनि अमेरीकी उत्पादनमा ३४ प्रतिशत नै कर लगाउने घोषणा गरेको छ ।

चीनको प्रतिकात्मक कर नीति फिर्ता नलिए चिनियाँ उत्पादनमा थप ५० प्रतिशत कर लगाउने भन्दै चेतावनी दिँदै ट्रम्पले चीनलाई उक्त कर फिर्ता लिन मंगलबारसम्मको समय दिएका छन् ।

बेइजिङको प्रतिउत्तरपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा एक सन्देश लेख्दै चीनले मंगलबारसम्म उक्त कर फिर्ता नलिए बुधबारदेखि चिनियाँ समानमा थप ५० प्रतिशत भन्सार लगाउने चेतावनी दिएका हुन् । ट्रम्पको धम्कीबाट बेइजिङ पछि नहट्ने भएको छ ।

अमेरिका र चीनबीचकाे यो टकरावले दुई मुलुकबीच व्यापार युद्ध बढ्दै जाने संकेत गरेको छ । ट्रम्पको चेतावनीको प्रतिक्रिया स्वरूप अमेरिकास्थित चिनियाँ दूतावासले अमेरिकालाई ‘आर्थिक दादागिरी’को आरोप लगाएको छ ।

अमेरीकास्थिति चिनियाँ दुतावासले भनेको छ ‘बेइजिङले आफ्नो वैधानिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ।’
यदि ट्रम्पले उक्त चेतावनी कार्यान्वयन गरेको अवस्थामा अमेरिकाले चीनको उत्पादनमा लाग्ने भन्सार १०४ प्रतिशत पुर्याउनेछ ।

सुरुमा २० प्रतिशत र गत साता घोषणा भएको ३४ प्रतिशतसहित हाल ५४ प्रतिशत कर लगाउन सुरु भएको छ । यदि थप ५० प्रतिशत कर लगाएमा १०४ प्रतिशत पुग्नेछ ।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले लेखेका छन्, ‘चीनले ३४ प्रतिशतको नयाँ प्रतिशोधात्मक भन्सार घोषणा गर्‍यो, जुन उनीहरूको पहिले नै अत्यधिक भन्सार शुल्क, गैर–आर्थिक उपायहरू, अवैध रूपमा आफ्ना कम्पनीलाई दिइएको अनुदान, र दीर्घकालीन रूपमा गरिएको मुद्रा हेरफेर माथि थपिएको हो ।’

८ अप्रिलभित्र उक्त नयाँ भन्सार दर फिर्ता नलिए अमेरीकाले चीनमाथि थप ५० प्रतिशत भन्सार दर लगाउनुको साथै चीनले प्रस्ताव गरेको वार्ताहरुसमेत पूर्ण रुपमा रद्द हुने चेतावनी दिएका छन् । साथै अमेरिकी नयाँ भन्सार दर कार्यान्वयनसँगै अन्य देशहरुसँको वार्ता भने तत्काल सुरु गर्ने ट्रम्पले उल्लेख गरेका छन् ।

अमेरिका र चीनले एक अर्काविरुद्ध प्रतिशोधात्मक कर लगाउने घोषणा एक पछि अर्को गरी आउँदा विश्व अर्थतन्त्र नै तरंगित बनेको अवस्था छ । यि दुईदेशबीच सुरु हुने लागेको व्यापार युद्धले विश्वभरका सेयर बजारमा सोमबार तीव्र गिरावट देखिएका छन् ।

चीनले पनि ट्रम्पको चेतावनीबाट पछि नहट्ने स्पस्ट पारेको छ । चीनको वाणिज्य मन्त्रालयले प्रतिक्रिया दिँदै भनेको छ, ‘यदि अमेरिका भन्सार बढाउने कामलाई अघि बढाउँछ भने, चीन आफ्ना हित र अधिकारको रक्षाका लागि कडा प्रतिकार गर्नेछ ।’

चीनको सरकारी पत्रिको पिपुल्स डेलीले चिनको वाणिज्य मन्त्रालयले दिएको प्रतिक्रिया उल्लेख गरेको हो । ‘अमेरिकाले लगाउँदै आएको तथाकथित ‘पारस्परिक भन्सार’ कुनै आधार छैन। यो एकपक्षीय दादागिरीको उदाहरण हो,’ पिपुल्स डेलीले लेखेको छ, ‘चीनले लगाएको प्रतिकारात्मक कदमहरू वैधानिक छन्, र तिनको उद्देश्य आफ्नो सार्वभौमिकता, सुरक्षा र विकास अधिकारको रक्षा गर्नु हो।’

वाणिज्य मन्त्रालयका प्रवक्ताले अमेरिकाको धम्की अस्वीकार्य भएको बताएको पिपुल्स डेलीले लेखेको छ ।

‘अमेरिकाले यस्तो धम्की दिँदा आफ्नो ’ब्ल्याकमेल’ प्रवृत्तिको खुलासा मात्र हुन्छ, र यस्तो चीनले कहिल्यै स्वीकार गर्ने छैन, ‘वाणिज्य मन्त्रालयको प्रवक्ताले भनेका छन्, ‘यदि अमेरिका गलत बाटोमै अघि बढ्न चाहन्छ भने, चीन अन्तिमसम्म लड्न तयार छ।’

व्यापार युद्धमा कसैको जित हुँदैन, संरक्षणवादले समाधान दिन नसक्ने चिनले बताएको छ । ‘दबाब र धम्की दिँदै चीनसँग व्यवहार गर्नु गलत तरिका हो,’चीनले अमेरीकालाई आह्वान गर्दै भनेको छ, ‘तुरुन्तै आफ्ना गल्तिहरू सच्याउनुपर्छ । एकपक्षीय भन्सार शुल्कहरू हटाउनुपर्छ । आर्थिक दबाब बन्द गर्नुपर्छ ।’ चीनले आपसी सम्मानको आधारमा संवाद गर्न आह्वान गरेको छ।