किन गइरहेको छ लोडसेडिङको झल्को दिने गरी झ्याप झ्याप बत्ती ?

1.6k
Shares

काठमाडौं । नेपाल सरकारका पूर्व सहसचिव शिव नेपालले आइतबार सामाजिक सञ्जाल फेसबुकमा ‘कुलमान गएकाले हो कि अरु नै कारण छ, विद्युत दैनिक पटक पटक काटिने गरेको छ, विना सूचना?’ लेखेका छन् । उनले पछिल्लो समय गोगंबु एरियामा दैनिक दुई/तीनपटकसम्म लाइन जाने समस्याले हैरान भएर सामाजिक सञ्जालमा लेखेको बताए । ‘केहि दिन भयो । धेरै लामो समय होइन्,१५/२० मिनेट बत्ती गइरहन्छ । यो समस्या बढिरहेको छ । प्राविधिक हुनै समस्या हुनसक्ला,’ उनले भने,’पहिले यस्तो समस्या थिएन तर अहिले बत्ती गइरहन्छ ।’

अटोका जानकार आवाशिष ओझाले भिडियो अपलोड गर्ने बेला बत्ती गएको भन्दै फेसबुकमा लेखेका छन् । उनले ‘यार भिडियो अपलोड गर्ने बेला बत्ती गएर ल्यायो, अनि हाम्रो एरियामा बत्ती गएको बेला एनटीसीको मोबाइल इन्टरनेट पनि चल्दैन,हैट’ लेखेका छन् ।

सेयर लगानीकर्ता सुधिर विज्ञान सापकोटाले अघोषित लोडसेडिङ भएको भन्दै फेसबुकमा लेखेका छन् । उनले ‘हितेन्द्र देव शाक्य ज्यू, हजुर आएपछि दैनिक जसो लाइन काटिएको छ, न्युरोड काठमाडौंमा । हामीले इन्भर्टर किन्नुपर्ने हो ? नत्र अघोषित लोडसेडिङ किन? फेरी लाइन गयो ।’

उनले बिहान ११ बजेदेखि ३ बजेसम्म मार्केट खुल्ने भएकाले उक्त अवधिमा लाइन नकाट्न प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यसँग माग गरेका छन् । लाइन जादा अफिसमा इन्भर्टर हुने भएपनि इन्टरनेट सेवा प्रदायकले पोलमा राख्ने बक्समा लाइन नहुँदा इन्टरनेट नचलेका कारण कारोबारमा समस्या भएको उनको गुँनासो छ ।

यी केहि प्रतिनिधी उदाहरण भए पछिल्लो केहि दिन यता काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा झ्याप झ्याप बत्ती जाने समस्या बढेको छ ।

दिनमै तीन/चार पटक सम्म बत्ती जाने गरेका कारण कतिपयले फेरी लोडसेडिङ हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आखिर किन गइरहेको छ बत्ती ?

नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले कार्यभार सम्हाल्दै औद्योगिक करिडोरमा समेत लोडसेडिङ नहुने घोषणा गरेका थिए । उनले भारतबाट बत्ती ल्याएर भएपनि लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका हुन् । भारतबाट ल्याएर औद्योगिक करिडोरमा लोड कटौती घटेकै छ । तर ग्राहस्तवर्गमा लोडसेडिङको अवस्था नभएपनि झ्याप झ्यपा बत्ती गइरहने समस्या बढेको छ ।

दैनिक पटक पटक लाइन जाने समस्याले मानिसहरु आजित हुन थालेका छन् ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकार पछिल्लो समय लाइन जाने समस्या बढेको स्वीकार्छन् । ‘अहिले हावाहुरीको समस्याले लाइन जाने समस्या बढेबको छ । हिजो २० मिनेट जति लाइन गएको थियो । प्राविधिक समस्या आउँछ, हामी मर्मत गर्न लागिका तयार अवस्थामा छौं,’ उनले भने, ‘प्राविधिक समस्या आइरहन्छ ।’ उनले प्रणालीमा पर्याप्त बिजुली भएकाले लोडसेडिङको कुनै समस्या नरहेको दाबी गरे ।

प्राधिकरणका अनुसार भारतबाट ८०० मेगावाटसम्म आयात गरेर आन्तरिक माग व्यवस्थापनको काम भइरहेको छ । जडित क्षमता ३५०० मेगावाट पुगेपनि हिउँदको करिब १९०० मेगावाट पीक डिमाण्ड आन्तरिक माग पूरा गर्न ८०० मेगावाट आयात गर्नुपर्ने अवस्था छ ।  १००० मेगावाटभन्दा कम आन्तरिक उत्पादन छ । सोही कारण अहिले उद्योगमा ६ घण्टासम्म लोडसेडिङ भइरहेको छ ।

प्राधिकरणका अधिकारीहरुका अनुसार ग्राहस्तपवर्गका लागि पर्याप्त हुने बिजुली भएपनि प्रसारण प्रणालीका कारण यस्तो समस्या आएको हो । पूरानो प्रणाली रहेका कारण झ्याप झ्याप बत्ती जाने समस्या बढिरहेको  छ । कतिपय स्थानमा भने मर्मत र सुधारका काम भइरहेको कारण पनि लाइन गइरहेको छ । नयाँ नेतृत्वले वितरण प्रणालीको व्यवस्थापनलाई प्राथमिकतामा राख्न नसकेका कारण पनि यस्तो समस्या भइरहेको उनीहरुको भनाई छ ।

Skip This