देशभर शैक्षिक हड्ताल गर्दै शिक्षक, एसईईको कापी जाँच नगर्ने

238
Shares

default

काठमाडौं । लामो समयदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २५ गतेदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन महासंघले शैक्षिक गतिविधि पूर्णरूपमा ठप्प पार्ने निर्णय लिएको हो ।

महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनलाई ‘अन्तिम र निर्णायक’ भन्दै सबै शिक्षकलाई चैत २५ गतेदेखि हुने आम शैक्षिक हड्तालमा सहभागी हुन आह्वान गरेको छ । महासंघ माघ २० गतेदेखि चरणबद्ध आन्दोलनमा छ भने चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक प्रदर्शन गर्दै आएको छ ।

महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो अन्तिम आन्दोलन भएको जनाइएको छ ।

विज्ञप्तिमा चैत २५ देखि सबै विद्यालय बन्द गर्दै आन्दोलनमा सक्रिय सहभागिता जनाउन अनुरोध गरिएको छ । साथै, यस अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार, शैक्षिक भ्रमण लगायत कुनै पनि गतिविधिमा संलग्न नहुन पनि शिक्षकहरूलाई आग्रह गरिएको छ ।

महासंघले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सबै सरोकारवालासँग आग्रह गरेको छ ।

यता, सरकारले शिक्षकहरूको मागलाई सम्बोधन गर्दै विद्यालय शिक्षा विधेयकमा आवश्यक विषय समेट्ने प्रयास भइरहेको बताएको छ । तर महासंघले सरकारको पहललाई पर्याप्त नठानी आन्दोलनलाई थप सशक्त बनाउने रणनीति अघि सारेको हो ।