भारत भ्रमणबारे ओलीको जवाफ : काँडेतार लगाएको छ र कसैले ?

2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यस्तताका कारण भारत भ्रमणको विषयमा अहिले सोच्न नभ्याइने बताएका छन्

थाइल्यान्डको एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनबाट स्वदेश फिर्ता भएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विविध कारणले नभ्याएकाले भारत भ्रमण नभएको बताएका हुन् ।

सञ्चारकर्मीहरूले अब भारत भ्रमण कहिले हुन्छ भनेर ओलीलाई प्रश्न सोधेका थिए ।

जवाफमा ओलीले भने, ‘कहिले के काम परेको हुन्छ, कहिले के हुन्छ । त्यस्तो कारणले मात्रै हो । यो बाहिर भारत भ्रमण अबरुद्ध भयो भन्छन् । काँडेतार लगाएको छ र कसैले ? त्यस्तो हुँदैन होइन ।’

सञ्चारकर्मीहरूले सगरमाथा संवादअघि नै भारत भ्रमण हुनसक्ने सम्भावना बारे सोधिएको प्रश्नमा उनले भने, ‘हामी अलि व्यस्त नै छौँ । सगरमाथा संवादको तयारी गर्नुपर्ने हुन्छ ।’

प्रधानमन्त्री ओलीले सगरमाथा संवादमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका भारतीय समकक्षी नरेन्द्र मोदी नेपाल आउन नभ्याउने समेत जानकारी दिए ।