
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका लगभग सबै देशहरूबाट आउने सामानहरूमा ट्यारिफ (आयात कर) लगाउने योजना सार्वजनिक गरेका छन् । यसले अमेरिकामा बसोबास गर्नेहरूले दैनिक प्रयोग गर्ने धेरै सामानहरू- जस्तै लुगा, कफी, जुत्ता सबैको मूल्य बढ्न सक्नेछ ।
बुधबार ट्रम्पले राष्ट्रिय आर्थिक आपतकाल घोषणा गर्दै, अर्बौं डलर बराबरको सामानमा कम्तीमा १० प्रतिशत कर लगाउने घोषणा गरे । ‘सबैभन्दा खराब’ भनिएका देशहरूका लागि यो दर ५० प्रतिशतसम्म पुग्न सक्छ । यी करहरू ५ अप्रिलबाट लागू हुनेछन्।
अर्थशास्त्रीहरू भन्छन्, ‘ट्रम्पको ट्यारिफ र अरू देशहरूले बदला स्वरूप लगाउने करले अमेरिकामा मूल्य वृद्धि गराउँछ ।’ अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलले पनि यसले मुद्रास्फीति बढाउने बताएका छन्।
किनभने सामान आयात गर्ने कम्पनीहरूले ती करहरूको बोझ ग्राहकमा पार्न सक्छन् वा आयात नै घटाउनेछन्, जसले सामानको आपूर्ति घटेर मूल्य बढ्नेछ।
१. लुगा (टार्गेट, एचएन्डएम, ग्याप जस्ता ब्रान्डहरू)
‘सबैभन्दा खराब’ भनिएकाको सूचीमा परेका देशहरूमा भिएतनाम, चीन र बंगलादेश छन् । जो लुगा उत्पादनका प्रमुख केन्द्रहरू हुन् । यी तीन देशबाट अमेरिकामा आयात हुने लुगामा ३४ देखि ४६ प्रतिशतसम्म कर लाग्न सक्छ ।
यसले टार्गेट, वालमार्ट जस्ता डिपार्टमेन्ट स्टोरहरू र ग्याप, एचएन्डएम जस्ता ब्रान्डहरूलाई असर गर्न सक्छ । ग्यापले आफ्नो लुगाको २१ प्रतिशत भिएतनामबाट आयात गर्छ भने ३७ प्रतिशत भारत, इन्डोनेसिया र बंगलादेशबाट ल्याउँछ । एचएन्डएमले चीन र बंगलादेशमा धेरै लुगा उत्पादन गर्छ ।
२. कफी र अन्य आयातित खाद्य पदार्थ
अमेरिकामा खपत हुने कफी लगभग सबै विदेशबाट आयात गरिन्छ । यसले गर्दा घर वा कफी पसलमा पिउने कफीको मूल्य बढ्न सक्छ । अमेरिकाले कफी ब्राजिल र कोलम्बियाबाट धेरै आयात गर्छ, जसमा १० प्रतिशत कर लाग्नेछ। भिएतनाम पनि केही प्रकारको कफी निर्यात गर्छ । यसबाहेक, इटाली, स्पेन र ग्रीसबाट आयात हुने जैतूनको तेल जस्ता खाद्य पदार्थहरूको मूल्य पनि बढ्न सक्छ ।
३. स्नीकर्स (एडिडास, नाइकी जस्ता ब्रान्डहरू)
जुत्ता आवश्यकता पनि हो र धेरै खर्च गरिने वस्तु पनि । नाइकी एयर फोर्स १ र एडिडास साम्बा जस्ता प्रसिद्ध स्नीकर्सहरू महँगा हुन सक्छन् । नाइकीको आधा जुत्ता भिएतनाममा बन्छ भने एडिडासको ३९ प्रतिशत जुत्ता पनि त्यहींबाट आउँछ।
यसअघि अमेरिकाले चीन र भिएतनामबाट २७ अर्ब डलरको जुत्ता आयात गर्थ्यो, जसमा ३ अर्ब डलर कर लाग्थ्यो । अब यो कर तीन गुणा बढ्न सक्छ।
४. मदिरा (युरोपेली वाइन र बियर)
फ्रान्स अमेरिकामा वाइन आपूर्ति गर्ने प्रमुख देश हो । युरोपमा २० प्रतिशत कर लाग्दा फ्रान्सेली वाइन उद्योगले चिन्ता व्यक्त गरेको छ । यसले गर्दा रेस्टुरेन्टहरूमा आयातित बियर (गिनीज) वा विदेशी रक्सी (नेग्रोनी) को मूल्य बढ्न सक्छ । ट्रम्पले क्यान बियरमा पनि एलुमिनियम कर लगाएका छन्, जसले घरमा बियर पिउनेहरूको लागत बढाउनेछ ।
५. इलेक्ट्रोनिक्स (आइफोन, भिडियो गेम कन्सोल)
मोबाइल, टिभी र गेम कन्सोल जस्ता महँगा सामानहरू अझै महँगा हुन सक्छन् । चीन, ताइवान र दक्षिण कोरिया अमेरिकामा इलेक्ट्रोनिक्स निर्यात गर्ने प्रमुख देशहरू हुन् ।
धेरै आइफोन चीनमा बन्छन्, भने सामसङ्गको धेरै उत्पादन भिएतनाममा हुन्छ । निन्टेन्डोले आफ्नो स्विच २ कन्सोलको प्री-अर्डर स्थगित गरेको छ, किनभने करको असर आंकलन गर्न आवश्यक छ ।
६. शिन र टेमुबाट खरिद
चिनियाँ अनलाइन पसल टेमु र शिनबाट सस्तोमा सामान खरिद गर्ने अमेरिकीहरूको लागत बढ्न सक्छ । ट्रम्पले साना पार्सलहरूमा कर नलाग्ने छूट (डी मिनिमिस लुपहोल) हटाएका छन् । यसअघि ८०० डलरभन्दा कमको पार्सलमा कर लाग्दैनथ्यो । अब यसमा ३० प्रतिशत वा प्रतिवस्तु २५ डलर कर लाग्नेछ । जुन १ जुनदेखि प्रतिवस्तु ५० डलरसम्म पुग्नेछ । यसले शिन र टेमुको सामान महँगो बनाउनेछ ।
यी करहरूले अमेरिकी उपभोक्ताहरूको दैनिक जीवनमा ठूलो असर पार्न सक्छ, विशेष गरी निम्न आय भएका परिवारको दैनिकी अमेरिकामा थप जटिल बन्ने विश्लेषण भइरहेको छ ।
प्रतिक्रिया