ट्रकबाट बरामद २५ करोडका मालिक सिन्धुपाल्चोकका पौडेल, पक्राउ पुर्जी जारी

4.2k
Shares

काठमाडौं । गत चैत ५ गते काठमाडौंको झोरबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र युरो सिन्धुपाल्चोकका नारायण पौडेलको रहेको खुलेको छ ।

राजस्व अनुसन्धान विभागको अनुसन्धानले सो रकम पौडेलकै भएको खुलेको हो । रकमसहित ट्रक र चालक नियन्त्रणमा लिएको प्रहरीले सिन्धुपाल्चोकका ट्रक चालक कुसाङ लामालाई सार्वजनिक गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित ४१ वर्षीय कुसाङ लामालाई सार्वजनिक गरेको थियो ।

स्रोतका अनुसार अनुसन्धानका क्रममा सो रकम सिन्धुपाल्चोकका नारायण पौडेलकै भएको पुष्टि भएको र उनलाई पक्रन गर्न ४ दिनअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ ।

गाडीका चालक लामा भरियामात्र रहेको र उक्त रकम पूर्ण रुपमा पौडेलको भएको उनको भनाइ छ ।

प्रारम्भिक बयानमा कुसाङ लामाले आफूलाई दुई अपरिचित व्यक्तिहरूले अमेरिकी डलर र युरो रसुवागढी हुँदै केरुङ पुर्‍याइदिन आग्रह गरेको बताएका थिए ।

यसअघि कुसाङ लामा कलंकीबाट ७ केजी सुनसहित पक्राउ परेका थिए । त्यस प्रकरणमा उनी ५ वर्ष जेल बसेर २०७८ सालमा रिहा भएका थिए ।

नारायण पौडेलको परिवारका अन्य सदस्य पनि सुन र रक्तचन्दन तस्करीमा जोडिँदै आएको पाइएको छ । नारायणका दाजु बच्चु र भाइ राजकुमार यसअघि ३३ किलो सुन प्रकरणका आरोपी थिए ।

उनीहरु २०७४ सालमा सीआइबीले सुन तस्करीमा मुद्दा दर्ता गरेपछि फरार भएका थिए । राजकुमार २०७४ सालमा माओवादी केन्द्रबाट भोटेकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।