पूर्वराजाले फागुन ७ मा आह्वान गरेपछि तीनकुनेमा प्रदर्शन भएको हो: विश्वप्रकाश

189
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको आरोप लगाएका छन् ।

बुधवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उनको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ।

पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उनलाई समवेदना फिल हुनुपदैन ? भन्दै उनले प्रश्न समेत गरे ।

राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भएपनि गणतन्त्रले महिला राष्ट्रपति बनाएको उनले उल्लेख गरे ।

राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिहरुलाई सुधार गर्दै जानुपर्ने उनको भनाइ छ ।

शर्माले ०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलहरुमा दलको नेतृत्व परिवर्तन हुने दाबी गरे ।

विश्वप्रकाशले यसो भने

फागुन ७ मा अपिल गर्नु भएका पूर्वराजाको तीनकुने घटनामा कुनै संलग्नता देखिँदैन ? छैन र ? उहाँलाई दुख्नु पर्दैन र ? उहाँको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपदैन ? राज्यको सम्पती तोडफोड हुँदा गम्भिर गल्ति भएको महशुस भएको छ भनेर बोल्नु पर्दैन र ? संवेदनशीलता नै देखिएन नि । राजालाई राजगद्धिमा ल्याउने हो भने उहाँ मरेपछि को बस्ने, छोरा, नाति, पनाति । के यो देश पुरुषहरुको मात्रै हो र ? गणतन्त्रले त दोस्रो राष्ट्रपति नै महिलालाई बनाएको छ नि । तर राजसंस्थामा त कहिले पनि महिलालाई अवसर नआउने रैछ । नेताप्रति असन्तुष्टि छ, सरकारप्रति असन्तुष्टि छ । सुधार गर्नुपर्छ । ०८४को निर्वाचनपछि हामी पार्टीकै नेतृत्व परिवर्तन गर्छौं भनिराखेका छौं नि तर राजगद्धिमा बसेको राजालाई त परिवर्तन गर्न सकिदैन नि ।