कतारले जेलमा रहेका १८ नेपालीलाई दियो आममाफी

441
Shares

काठमाडौं । कतार सरकारले अमिरी आममाफीअन्तर्गत १८ जना नेपाली कैदीलाई आममाफी दिने भएको छ ।

यस वर्षको रमदान पर्वको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा जेल सजाए भोगिरहेका १८ जना नेपाली कैदीलाई आममाफी दिएको हो ।

नेपालको परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मुस्लिमहरुको चाड रमजान र ईद पर्वको अवसरमा कतार सरकारले देखाएको मानवियता र आपसी सम्बन्ध मजबुत बनाउने कदमको उच्च मूल्यांकन गरिएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल सरकारले दोहास्थित नेपाली राजदूतावासमार्फत अनुरोध गरेपछि आममाफीको निर्णय गरिएको हो ।

नेपाल सरकारले यस कदमलाई दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतिकको रूपमा लिएको जनाएको छ ।

इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको पर्व ‘रमजान’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् ।