बालेनसँग खुश्बु ओलीले किन आक्रोशित ?

2.2k
Shares

काठमाडौं । राप्रपा नेतृ खुश्बु ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह स्टण्टमा लागेको आरोप लगाएकी छन् ।

शुक्रबार राजावादीले गरेको प्रदर्शनलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिबानाको पत्र काटिएको विषयमा असहमति जनाउँदै ओलीले कार्यक्रम आयोजकलाई उन्मुक्ति दिएर तेस्रो पक्षलाई दोषी देखाइएको भन्दै प्रश्न उठाएकी छन् ।

ओलीले भनेकी छन्, ‘चैत्र १५ गतेको कार्यक्रममा नेपाल सरकारले स्वीकृति दिएको सार्वजनिक सभा सञ्चालन भइरहेको थियो। सभा आयोजना गर्न छुट्टै समितिले कानूनी प्रक्रिया पूरा गरी अनुमति लिएको अवस्थामा, जरिबाना भने राजा ज्ञानेन्द्र शाहलाई काटियो। नेपालको कुन कानूनले सभा सञ्चालनका क्रममा स्वीकृति लिने निकायलाई मुक्त गर्दै तेस्रो पक्षलाई दोषी देखाउने अधिकार दिन्छ?’

उनले भनेकी छन्, ‘सभा स्वीकृति दिने निकाय नेपाल सरकार नै थियो, तर सभा सञ्चालन भइरहेकै बेला अश्रुग्यास प्रहार गरेर सभा भाँड्ने कार्य सरकारले नै गर्‍यो। यस्तो अवस्थामा, सभालाई भाँड्ने पक्ष सरकार हो कि आयोजक पक्ष? कानूनीरूपमा जवाफदेही कसलाई बनाउने भन्ने कुरा स्पष्ट हुनुपर्छ ।’

ओलीले महानगरपालिकाले कुन ऐन, कुन दफा, र कुन कानूनी अधिकार प्रयोग गरेर पूर्वराजालाई जरिबाना तोकेको हो भन्नेबारे स्पष्ट पार्नुपर्ने उनको माग छ । ‘कानूनसम्मत राज्यमा कुनै पनि जरिबाना वा दण्डको प्रक्रिया पारदर्शी, प्रमाणमा आधारित र विधिसम्मत हुनुपर्छ। यदि महानगरपालिकाको यो निर्णय कानूनी आधारमा सही छ भने, सोही कानूनी आधार स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ। जनतालाई भ्रमित पार्न पाइँदैन। अन्यथा, यो कदम कानूनी निष्पक्षताको उल्लंघन र सस्तो लोकप्रियताका लागि गरिएको देखिन्छ।’