राजावादी प्रदर्शनमा जनधनको क्षति निम्त्याउने कार्य निन्दनीय

126
Shares

काठमाडौं । राजावादी समूहहरूले शुक्रबारको विरोध प्रदर्शनलाई हिंसात्मक, अराजक र अनियन्त्रित बनाई जनधनको क्षति निम्त्याएकोप्रति जवाफदेहिता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नागरिकको निजी घर तथा पसलमा आगो लगाउने, समाचार संप्रेषण गर्न गएका पत्रकार सुरेश रजक तथा सर्वसाधारण सविन महर्जनको ज्यान जाने स्थिति सिर्जना गर्ने तथा अन्य कैयौंको जीवन जोखिममा पार्ने कार्यको समितिले घोर निन्दा र भर्त्सना गरेको छ ।

निजी आवास, सञ्चार गृह, दलको कार्यालय, औषधि कम्पनी, सवारीसाधन, विमानस्थल वरपरका संवेदनशील क्षेत्रमा समेत आगजनी तथा तोडफोड गर्ने कार्यहरू विरोध गर्ने स्वतन्त्रताभित्र नपर्ने समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘यस्ता अपराधिक कार्य गर्ने छुट कसैलाई पनि छैन । सर्वसाधारण नागरिकको ज्यान तथा सम्पत्तिमा क्षति पुर्‍याउने कार्य सशस्त्र संघर्ष तथा युद्धमा समेत मानवीय तथा मानवअधिकार कानूनद्वारा निषेधित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ यस प्रकारका निन्दनीय हिंसात्मक कार्यको तत्काल अनुसन्धान गरी संलग्न तथा जिम्मेवार व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन हामी जोडदार माग गर्दछौं ।’

विरोध गर्ने स्वतन्त्रता सबैलाई रहेको तर यो शान्तिपूर्ण हुनैपर्ने विज्ञप्तिमा जनाइएको छ ।

उच्चस्तरको संयमता अपनाउन तथा विरोधलाई शान्तिपूर्ण र रचनात्मक बनाउन आन्दोलनरत दल तथा समूहहरूलाई निगरानी समितिले आह्वान गरिएको छ ।

‘साथै, बल प्रयोग आवश्यक र समानुपातिक हुनुपर्ने कानूनी मान्यतालाई पूर्णतः पालना गर्न स्थानीय प्रशासन तथा नेपाल प्रहरीलाई निगरानी समिति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाई जनधनको क्षति हुन नदिन र हिंसात्मक झडपमा घाइते भएकाहरूको यथोचित स्वास्थ्योपचारको प्रबन्ध गर्न नेपाल सरकारका सम्बन्धित निकायसमक्ष निगरानी समिति आग्रह गर्दछ।’