रविन्द्र मिश्र र धवल शमशेरलाई रिहाइ गर्न राप्रपाको २४ घन्टे अल्टिमेटम

434
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजावादी प्रदर्शनमा भएका घटनाको छानबिन गर्न माग गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको हो ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको जानकारी दिए । उनले माग पूरा नभए देशव्यापी विरोध कार्यक्रम घोषणा गर्ने र आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिए ।

राप्रपाले प्रदर्शनका क्रममा भएको घटनालाई सरकारकै दमनकारी नीतिको परिणाम भएको ठहर गरेको छ । अध्यक्ष लिङ्देनका अनुसार सरकार पूर्वनिर्धारित योजनाअनुसार प्रदर्शनलाई दबाउन खोजेको थियो । उनले शान्तिपूर्ण सभा चलिरहेको स्थानमा सुनियोजित रूपमा अश्रुग्यास प्रहार गरिएको आरोप लगाए, जसका कारण स्थिति थप जटिल बनेको उनको भनाइ छ ।

बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई शहीद घोषणा गर्न माग गरेको छ । अध्यक्ष लिङ्देनले सरकार नागरिकको सुरक्षा सुनिश्चित गर्न असफल भएको दाबी गरे । बैठकले पूर्वराजालाई यस घटनामा अनावश्यक रूपमा तान्न नहुने भन्दै राजनीतिकरण रोक्न अपील समेत गरेको छ ।