
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको कार्यक्रमलाई लिएर काठमाडौं महानगरपालिकाले पूर्वराजालाई जरिवानाको पत्र पठाउनु स्टण्ट भएको टिप्पणी गरेका छन् ।
शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचनामा आगजनी, तोडफोड तथा महानगरको दमकलमा ढुंगामुडा भएको थियो। यस घटनाबाट भएको क्षतिको मूल्याङ्कन गर्दै महानगरपालिकाले ७ लाख ९३ हजार रुपैयाँको बिल निर्मल निवासमा पठाएपछि थापाले महानगरपालिकाको निर्णय हास्यास्पद भएको बताएका छन् ।
‘गलत ठेगानामा पठाईएको पत्र’ जस्तो “स्टण्ट” भयो, थापाले भनेका छन्, ‘मेयर बालेन साहबाट यस्तो त्रुटी कसरी भयो होला, म अलमलमा छु ।’
संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्विकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई उनले आग्रह गरेका छन् ।
पत्रको भाषा पनि अशिष्ट र अमर्यादित भएको उनको भनाइ छ ।
‘राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो। पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ,’ थापाले भनेका छन् ।
प्रतिक्रिया