
काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिर्न पत्र पठाएको छ।
शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचनामा आगजनी, तोडफोड तथा महानगरको दमकलमा ढुंगामुडा भएको थियो। यस घटनाबाट भएको क्षतिको मूल्याङ्कन गर्दै महानगरपालिकाले ७ लाख ९३ हजार रुपैयाँको बिल निर्मल निवासमा पठाएको हो।
त्यसैगरी, वडा नम्बर ३२ अन्तर्गत कोटेश्वर र तीनकुने क्षेत्रमा अनियमित रूपमा फोहोर फ्याँकी वातावरण प्रदूषण गरेको भन्दै शाहलाई १/१ लाख रुपैयाँ जरिवाना गरिएको छ। दमकल तथा अग्निनियन्त्रकहरूमाथि ढुंगामुडा गरी क्षति पुर्याएको भन्दै थप १ लाख ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
त्यसैगरी, तीनकुने क्षेत्रमा वातावरण प्रदूषण गरेको अभियोगमा १ लाख रुपैयाँ जरिवाना गरिएको छ। बालकुमारी र जडिबुटी सडक क्षेत्रमा फोहोर फ्याँकिएको कारण १/१ लाख रुपैयाँ जरिवाना लगाइएको छ।
साथै, तीनकुने क्षेत्रमा रहेका रुखबिरुवा तथा रेलिङ तोडफोड गरेको आरोपमा ४० हजार रुपैयाँ र आइल्याण्डमा भएको तोडफोडबापत २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ।
महानगरले यी सबै जरिवानासम्बन्धी पत्रहरू निर्मल निवासमा पठाइसकेको जनाएको छ।








प्रतिक्रिया