
काठमाडौं । भारतबाट विजुली ल्याएर लोडसेडिङ हटाउने विद्युत् प्राधिकरणको तयारीले सिमेन्ट उत्पादक संघले स्वागत गरेका छन् । संघले नेपालमा औद्योगिक क्षेत्रहरु, खास गरी सिमेन्ट उत्पादन गर्ने लगायतका ठूला उद्योगहरुमा दैनिक २४ सै घण्टा विद्युत आपूर्ति हुन नसक्दा (१२ घण्टा वा सो भन्दा बढि समय लोडसेडिङ्ग भएका कारण) उत्पादन क्षमता अनुसार सिमेन्ट उत्पादन हुन नसकेको अवस्थामा थप विजुली आउनु सकारात्मक भएको बताएको छ । नियमित विजुली आपूर्ति हुन नसक्दा सिमेन्टको उत्पादन लागत अत्याधिक बृद्धि भएको, मेसिन उपकरणमा क्षति पुग्न गएको कारण सिमेन्ट उद्योगलाई ठूलो नोक्सानी र मर्का परेको पनि संघको भनाइ छ ।
नियमित विद्युत आपूर्ति नभएका कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिबृद्धि, निर्यात प्रबर्द्धनसमेतमा गम्भीर रुपमा असर परेको यथार्थ व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरुलाई जानकारी भएकै विषय भएको पनि संघले जानकारी दिएको छ ।
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण समेतको पहलमा अब भारतबाट रातिको समयमा पनि थप विद्युत आपूर्ति हुने प्रयासको नेपाल सिमेन्ट उत्पादक संघले स्वागत गरेको छ । संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर लोडसेडिङ्ग घटेपछि उद्योग पूर्ण समय सञ्चालनमा आउने र उत्पादनसमेत बढ्ने अपेक्षा गरेका छन ।
नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको सुझबुझ नेतृत्वबाट नेपालको औद्योगिक क्षेत्रले बिना लोडसेडिङ्ग निरन्तर २४ सै घण्टा आवश्यकता अनुसारको विद्युत प्राप्त हुने सुनिश्चितता प्रदान गरी उद्योग व्यवसाय प्रबर्द्धनमा आवश्यक सहयोग र समन्वय गर्नेछ भन्ने विश्वास सिमेन्ट उत्पादक संघले लिएको छ । थप विद्युत आयात गरी उद्योग प्रतिष्ठानको लोडसेडिङ्ग कमी गर्ने गराउने र महत्वपूर्ण अभिभावकीय जिम्मेवारी शीघ्र पूरा गर्न सफल होस भन्ने हार्दिक शुभेच्छा सहित धन्यवाद व्यक्त गरेको पनि संघले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया