
काठमाडौं । नवराज सुवेदीको नेतृत्वको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई कमाण्डर घोषणा गरेको छ। समितिका संयोजक सुवेदीले आज आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन्।
राजसंस्थाको पुनःस्थापनाका पक्षधरहरूले भोलि काठमाडौंमा आयोजना गर्न लागेको जनप्रदर्शनलाई लक्षित गर्दै आज पत्रकार सम्मेलन गरिएको हो । संयोजक सुवेदीका अनुसार भोलिको प्रदर्शन संयुक्त जनआन्दोलन समितिको औपचारिक आयोजनामा हुनेछ ।
पत्रकार सम्मेलनमा उनले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी पनि दिएका छन् । साथै, उनले २०४७ सालको संविधानलाई आधार मानेर नयाँ राजनीतिक सहमति निर्माण गर्न राजनीतिक दलहरूलाई अपिल गरेका छन् ।
‘वर्तमान संविधानमा सानातिना फेरबदल गरेर सम्भव नै छैन । तसर्थ, व्यापक रूपमा सबैले प्रशंसा गरेका २०४७ को संविधानलाई आधार मानेर ०७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस् भन्ने हामी चाहन्छौ,’ उनले पत्रकार सम्मेलनमा भने ।
प्रतिक्रिया