कुलमान घिसिङलाई बर्खास्त गरेपछि ऊर्जा मन्त्रालयमा सुरक्षा बढाइयो, गेटमै प्रहरीको चेकजाँच

511
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मन्त्रालयको प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गर्दै अनधिकृत व्यक्तिहरूलाई प्रवेशमा रोक लगाइएको छ ।

मन्त्रालय स्रोतका अनुसार पछिल्लो निर्णयका कारण उत्पन्न असन्तोषलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको हो ।मन्त्रालयका कर्मचारीहरूलाई परिचयपत्र अनिवार्य गरिएको छ भने बाहिरबाट आउने व्यक्तिहरूलाई विस्तृत सोधपुछपछि मात्र प्रवेश दिइँदैछ ।

‘कुलमान घिसिङलाई बर्खास्त गरेपछि मन्त्रालयको गेट नेपाल प्रहरीको जवान राखेर प्रवेश गर्नेहरुको परिचयपत्र चेक गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । अनाधिकृत व्यक्तिहरु छिर्न सक्ने भन्दै सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षाकर्मी राखिएको हो,’ मन्त्रालयका एक अधिकारीले भने ।

सरकारले सोमबार नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेर  कुलमान घिसिङलाई बर्खास्त गरेको हो ।  उनका समर्थकहरूले सरकारको निर्णयको आलोचना गर्दै विभिन्न प्रतिक्रिया जनाइरहेका छन् भने विद्युत प्राधिकरण र माइतीघर मण्डलनमा विरोध प्रदर्शन गरिरहेका छन् । प्राधिकरणमा समेत सुरक्षाकर्मी खटाइएको छ । ‘हिजो मन्त्रालयमा बैठक थियो । हितेन्द्र देव शाक्य प्राधिकरण बाहिर विरोध प्रदर्शन भएका कारण आउनै सक्नु भएन,’ मन्त्रालयका ती अधिकारीले भने, ‘राति प्रदर्शन सकिएपछि मात्रै आउनु भयो ।’

यसबीच, पूर्वप्रबन्ध निर्देशक घिसिङ बर्खास्तीपछि आफ्नो पद थमौतीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उनको रिट बिहीबार दर्ता भएको छ । शुक्रबारको लागि पेसी तोकिएको छ ।  

यता ऊर्जा मन्त्री दीपक खड्काले सरकारको निर्णय उचित रहेको भन्दै नयाँ नेतृत्व आवश्यक भएकाले परिवर्तन गरिएको बताएका छन् ।

घिसिङको बर्खास्तीका कारण आगामी दिनमा थप विरोध प्रदर्शन हुन सक्ने अनुमान सुरक्षा निकायको छ ।