कुलमानतर्फ संकेत गर्दै ऊर्जा मन्त्रीले भने: काम नगरि प्रचारबाजी गर्ने कर्मचारीलाई सरकाले लगाम लगाउँछ

1.1k
Shares

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीमा काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा चलिरहेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खड्काले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको आरोप लगाएका हुन् ।

उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित हुनका लागि प्रतिष्पर्धा गर्न आग्रह समेत गरे ।
‘कानूनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहीँ स्वच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ । प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ,’ उनले भने, ‘कर्मचारी साथीहरुलाई पनि हेर्छु म, को चाहीँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिष्पर्धा चलेको छ । यसले समाजलाई कहीँ पुर्‍याउँदैन । साच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ ।’

कर्मचारीहरुले कानून र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने मन्त्री खड्काको चेतावनी छ । मर्यादा र अनुशासनभित्र बसेर काम गर्न उनले सबैको ध्यानाकर्षण गराए । ‘यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ । काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानूनभित्र बसेर काम गर्ने हो । यसमा तपाईहरुको पनि ध्यान जाओस्,’ उनले भने ।

मन्त्री खड्काले सरकारले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यत्ति विद्युत खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको जानकार दिए । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ छ।

मन्त्री खड्काले गरिव र विपन्न वर्गले महसुल तिर्न नसकेकै कारण विद्युतको पहुँचबाट वञ्चित हुन नपरोस् भन्नको लागि प्रतिमहिना ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको उल्लेख गरे ।