एसईई दिएकाले २० रुपैयाँमा सिमकार्ड पाउने, यस्ता छन् अरु अफर

266
Shares

काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ ।

यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरुलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ । सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् ।

पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरु उपभोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरुले सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् ।

यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन-नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने रिसोर्स सोही दिनका लागि मात्र कायम रहनेछ ।

नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र )वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

साथै सिमकार्ड एक्टिभ गर्नका लागि स्वयंले *1414# डायल गर्नुपर्नेछ । सो पश्चात् अफर प्राप्त गर्नका लागि *1600# डायल गरी निर्देशन फलो गर्नुपर्नेछ ।