एउटा कर्मचारीलाई हटाउँदा केही छाती पिटिपिटी रोए, जवाफ दिन आवश्यक छैन: प्रधानमन्त्री (भिडियो)

329
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गरेका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशबाट हटाएको प्रसंगमा बुधबार युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीले जवाफ दिइसकेको र सरकारले एउटा कर्मचारीलाई हटाएर अर्कोलाई नियुक्त गरेको बताए ।

बुधबारको प्रतिनिधि सभा बैठक बाहिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीले कुलमान हटाएको विषयमा स्पष्ट जवाफ नदिए संसद चल्न नदिने चेतावनी दिएपछि ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

‘सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएका छन् । प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन’ उनले भने ।

प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे । विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

प्रधानमन्त्री ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेका थिए ।

ओलीले युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताइए ।

‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’