कुलमानको विषयले संसद्‍मा विपक्षीको फेरि अवरोध, भोलिसम्मका लागि बैठक स्थगित

0
Shares

काठमाडौं । प्रतिपक्षी दलहरुको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

बुधवार आधा घण्टाको लागि स्थगित भएको बैठक फेरि शुरु भएपनि प्रतिपक्षी लदहरुले बैठकमा अवरोध कायमै राखे । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध पारेका हुन् ।

कुलमानको बर्खास्तीबारे रोष्ट्रमबाट प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरुको माग छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो ।

घिसिङलाई कार्यकारी निर्देशकबाट पदमुक्त गर्नुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरुको माग छ । चित्तबुझ्दो जवाफ नआए फेरि बैठक अवरोध कायमै राख्ने उनीहरुको जिकिर छ ।

२०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझे लगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए ।

तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ति पाएका घिसिङको नियुक्ति बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए ।