नेप्सेमा सीईओ नियुक्ति भएको छैनः मुख्य सचिव

1.6k
Shares

काठमाडौं । गत सोमबार मन्त्रिपरिषदको बैठकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारद कुमार लुुईटेललाई नियुक्त गर्यो भन्ने चर्चा केवल चर्चामा मात्रै सिमित भएको छ ।

उक्त बैठकले नेप्सेको सीईओमा लुईटेललाई नियुक्त गरेको भनेर एक मन्त्रीले बताएका थिए । तर, उक्त बैठकले नेप्सेमा कुनै पनि व्यक्तिलाई सीईओमा नियुक्त नगरेको मुख्य सचिव एकनारायण अर्यालले क्लिकमान्डुलाई बताए ।

‘मन्त्रिपरिषदले नेप्सेमा कुनै व्यक्तिलाई सीईओमा नियुक्त गरेको थियो भने मन्त्रिपरिषदको निर्णयमा आउने थियो’ उनले भने ‘यसअघिका सबै निर्णय सार्वजनिक भएका थिए । यो विषयमा पनि निर्णय भएको थियो भने सार्वजनिक हुन्थ्यो ।’ निर्णय नभएका कारण आएन ।’

साेमबार साँझ नेप्सको सीईओ नियुक्त भएको भनिएको थियो । सञ्चार माध्यममा आएको हल्ला बारे आफूलाई कुनै जानकारी नभएको अर्यालले बताए ।

यता सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका सरकारका प्रवक्ता पृथ्वी सुुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दा २७ वटा निर्णय गरेको र अन्य कुनै निर्णय नगरेको जानकारी गराएका थिए । उक्त २७ वटा निर्णयमा नेप्सेमा सीईओ नियुक्ती भएको विषय उल्लेख छैन ।