
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका अन्धकार कुनै एक व्यक्तिका कारणमात्रै नहटेको टिप्पणी गरेका छन् ।
विभिन्न सरकारहरुले गरेका कामका कारण लोडसेडिङ हटेको ओलीको भनाइ थियो । एक व्यक्तिका कारण मात्र लोडसेडिङ हटेको हो भन्ने भ्रममा नपर्न उनले आग्रह गरे ।
मंगलबार बालुटारमा आयोजित कार्यक्रममा ओलीले कुलमानको नाम नलिइ नियुक्तिको भोलिपल्ट के उनी चिम बोकेर आएका थिए भन्दै प्रश्न गरे ।
‘नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो ?’ प्रधानमन्त्रीले प्रश्न गरे ।
प्राधिकरणमा रिटार्डलाई ल्याएर पूर्ववर्ती सरकारले राखेको उनको भनाइ थियो । ‘हिजो त्यहीँ काम गरेको अर्को एक जनालाई निकालेर काम नभएको पद, ठाउँमा सरुवा गरिदिनुभयो । अनि रिटायर्डलाई ल्याएर राखिदिनुभयो’ उनले भने ।
ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य ‘प्रमिथस’ को प्रसंग निकाल्दै प्रचण्ड प्रमिथस बन्न खोजेको आरोप लगाए ।
‘उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो । पृथ्वीका मान्छेहरुलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरुमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो । ती मित्रले त्यस्तै गरेर ब्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो । अघिल्लो चार वर्षको कार्यकाल पुरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो, त्यसबेला ल्याउनुभएको थियो कि, उहाँले नियुक्ती गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर, के बाकेर आउनुभयो ? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रुपमा, जादुको रुपमा व्याख्या गर्न खोजियो । कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्छु ।
प्रतिक्रिया