
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरेको विषमया छानबिन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले माग गरेको छ । रास्वपा सांसद शिशिर खनालले नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमको नियुक्ति लेनदेनका विषयमा छानबिन गर्न माग गरेका हुन् ।
एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफूले पार्टीको दबाबमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नियुक्त गरेको बताएका थिए । गत शुक्रबार बसेको सार्वजनिक लेखा समितिको वैठकमा पूर्वमन्त्री आलेले ‘म मन्त्री हुँदा पार्टीबाट एउटा चिठी आएको थियो, योयो व्यक्तिलाई यहाँयहाँ नियुक्ति गरिदिनुपर्यो भने । सिनियरिटीका आधारमा प्राधिकरणको १२ औं तहमा ५ जना थिए । प्रदीप अधिकारी ११ औं तहमा हुनुहुन्थ्यो । मैले हुँदैन भनें । के गर्नु समाजवादी नयाँ पार्टी भयो । अलिकति चलायनमान बनाउनुपर्यो । धेरै प्रेसरपछि, झलनाथ खनालको सिफारिसमा र अन्य नेताको सिफारिसमा दुई अधिकारी (प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी) नियुक्त गरें । त्यसपछि मैले धेरै नियालें । मन्त्री भएपछि राज्यको धेरै स्रोत परिचालन गर्न पाइने रहेछ । मलाई ६ महिनामात्र समय दिइएको थियो । त्यसपछि राजीनामा गर्नुपर्ने थियो ।’ भनेका थिए ।
प्रतिनिधिसभाअन्तरगर्तको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा बोल्दै रास्वपा सांसद खनालले प्राधिकरणका महानिर्देशक र निगमको अध्यक्ष नियुक्तिमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरे । लेखा समितिमा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री समेत रहेका आलेले यो कुरा भनेको भन्दै उनले छानबिन गर्न समिति बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया