
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्खास्तीको निर्णय गलत भएको टिप्पणी गरेका छन् ।
सोमबार सरकारले प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै महामन्त्री थापाले भनेका छन्, ‘निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।’
तर, घिसिङलाई बर्खास्त गर्ने प्रस्ताव स्वयं कांग्रेसबाट सरकारमा ऊर्जा मन्त्री रहेका दीपक खड्काले लगेका थिए भने उनलाई परराष्ट्र मन्त्री आरजु देउवाले साथ दिएकी थिइन् ।
थापाले मन्त्रीहरुले गल्ती गर्दा प्रधानमन्त्रीले सम्हाल्नु पर्ने भए पनि त्यो हुन नसकेको टिप्पणी गरेका छन् ।
यस्तो छ गगन थापाको भनाइ
आम नागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ । यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?
हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ?
मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।
प्रतिक्रिया