
काठमाडौं । नेपालको १८ लाख हेक्टर जमिनमा भाङ खेती सम्भव हुने देखाएको छ । कृषि प्रणालीमा आमूल परिवर्तन ल्याउन सक्ने वैकल्पिक बालीका रूपमा भाङलाई पहिचान गर्दै एक अध्ययनले यस्तो देखाएको हो ।
रिन्युएबल एन्ड सस्टेनेबल रिभ्युज जर्नलमा प्रकाशित एक अध्ययनमा भाङ (गाँजा)को बहुउपयोगिता दर्शाइएको छ ।
सागर काफ्ले गरेको अध्ययनमा गाँजाको औधोकिकिरणबाट उच्च आयआर्जन गर्न सकिने भन्दै वैकल्पिक बालीको रूपमा प्रस्ताव गरिएको छ । पूर्वाञ्चल क्याम्पस, इञ्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक तथा हाल संयुक्त राज्य अमेरिकाको अबर्न विश्वविद्यालयका विद्यावारिधि गर्दै छन् ।
अध्ययनले कुल १८ लाख हेक्टर जमिन, अर्थात देशको झन्डै १२% भूभागमा भाङ खेतीको सम्भाव्यता पहिचान गरेको छ । तर भूगोल र अन्य मापदन्ड समेतलाई विचार गर्दा भाङ खेतीको लागि करीब २.८ लाख हेक्टर जमिन पहिचान गरिएको छ ।

अध्ययनले भाङको बहुउपयोगी गुण, उत्पादन क्षमता, तथा ऊर्जामा योगदान जस्ता पक्षहरूलाई उजागर गरेको छ ।
प्रतिहेक्टर भाङ खेतीको उत्पादन लागत ३,१७७ अमेरिकी डलर हुने अनुमान गरिएको छ भने प्रति हेक्टर आम्दानी १० हजार ४५० डलरसम्म पुग्नेछ । यस आधारमा ७,२७३ डलरको नाफा हुने आँकलन गरिएको छ ।
टेक्सास एएन्डएम विश्वविद्यालयमा अध्ययनरत अनुसन्धानकर्ता पुरुषोत्तम ज्ञवालीका अनुसार नेपालमा भाङ खेती अन्य देशको तुलनामा सस्तो पर्ने भएकाले यसले लाभदायक वैकल्पिक बालीको रूपमा काम गर्न सक्छ ।
अध्ययनले सबैभन्दा धेरै उपयुक्त जमिन पहाडी क्षेत्रमा (७१%) त्यसपछि तराईमा (२८%) र केवल १ प्रतिशत हिमाली क्षेत्रमा देखाउँछ ।
प्रदेशगत रूपमा सबैभन्दा बढी सम्भावना कोशीमा फेला परेको छ । त्यसपछि लुम्बिनीमा र सबैभन्दा कम सुदूरपश्चिममा सम्भावना देखिएको छ । माटो, भौगोलिक उचाइ, जलवायु र सडक सञ्जाललाई ध्यानमा राख्दै, भाङ उत्पादनका लागि उच्च, मध्यम र कम सम्भाव्य क्षेत्रहरू वर्गीकृत गरेको छ ।
अध्ययनले सम्भाव्य क्षेत्रबाट कुल उत्पादन बायोमास क्षमता ८७ लाख टन, फाइबर क्षमता ७ लाख टन र बिउ क्षमता ५ लाख टन पहिचान गरेको छ ।
अबर्न विश्वविद्यालयका प्रा. डा. सुशील अधिकारीका अनुसार भाङको बायोमासबाट उत्पादित ४१ लाख टन ठोस इन्धन र १५ करोड लिटर जैविक डिजेल ले नेपालमा वार्षिक खपत हुने ऊर्जा र डिजेलको क्रमशः १०% र ८% पूर्ति गर्न सक्षम छन् ।
ठोस इन्धनले आयातित कोइलामा आधारित प्रदूषक इन्धनको स्थान लिँदै स्वदेशी जैविक इन्धनलाई प्रोत्साहन दिन सक्छ ।
भाङ खेतीले माटोको उर्वरता, जल संरक्षण र कार्बन शोषणमा समेत योगदान पुर्याउने देखिएको छ ।
नेब्रास्का विश्वविद्यालयमा अध्ययनरत अनुसन्धानकर्ता डिल्लीराम भट्टराईका अनुसार कम रसायनिक मल प्रयोग हुने भएकाले जैविक विविधता संरक्षणमा समेत यो खेती लाभदायक हुन्छ ।
बहु-लाभकारी बाली भएकोले, भाङको खेति तथा औधोकिकरणले दिगो विकासका लक्ष्यहरू पुरा गर्न मद्दत गर्दछ । ग्रोनिंगेन विश्वविद्यालयका उप-प्राध्यापक डा. प्रजल प्रधानले भने, ‘भाङ खेतीले किसानको आय बढाउँछ, जीवाश्म इन्धनलाई जैविक-ऊर्जाले प्रतिस्थापन गर्न मद्दत गर्दछ, र जलवायु परिवर्तनको असरलाई कम गर्दछ सहयोग पुर्याउँछ । साथै यसले नयाँ रोजगारी सिर्जना गर्न मद्दत गर्दछ ।’ उप-प्राध्यापक प्रधानले भाङ खेतीले नवप्रवर्तनलाई बढावा दिदै पर्यावरण-मैत्री उत्पादनहरूलाई बढावा दिन सहयोग पुर्याउँछ ।
भाङ बहु-लाभकारी बाली भए तापनि नेपालले गाँजाको प्रतिबन्धसँगै यसको खेती र व्यापारमा पनि एकमुस्ट प्रतिबन्ध लगाएको छ ।
गाँजा तथा भाङ दुवै एउटै प्रजातिका भए तापनि, भाङमा टेट्राहाइड्रोकानाबिनोल ०.३% वा कम हुने भएकाले यसलाई गाँजा भन्दा फरक मानिन्छ ।
भाङको विश्वव्यापी बजार वृद्धि भइरहेको कारण धेरै देशहरूले यसको आर्थिक र वातावरणीय फाइदाहरू मुल्यांकन गर्दै यससँग सम्बन्धित प्रतिबन्धहरु हटाइरहेका छन् । तर नेपालले भने अझै पनि प्रतिबन्ध हटाएको छैन । नेपालमा गाँजाको वैधानिकीकरणको लागि बढ्दो वकालतका कारण, संघिय संसदमा सन् २०२० मा सार्वजनिक महत्वका प्रस्तावहरू दर्ता भएका थिए र सरकारले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता र कानुनी व्यवस्था निर्माणका लागि विगत दुई आर्थिक वर्षहरूमा बजेट विनियोजन गरेको छ ।
तर, अझै पनि गाँजा र भाङ बीचको भिन्नतामा पर्याप्त स्पष्टताको अभाव छ र गाँजा खेतीलाई वैधानिक बनाउनको लागि समयरेखा तथा कार्ययोजनाको अभाव छ । यसै सन्दर्भमा सामाजिक उद्यमि सौरभ ढकाल भन्छन्, ‘भाङ खेतीलाई खुला गर्ने कानुन निर्माणमा ढिला हुने देखिन्छ ।’ ढकालले नेपालको संविधानले स्थानीय सरकारहरूलाई स्रोतहरू व्यवस्थापन गर्न अधिकार दिएको हुनाले स्थानिय सरकारहरुले भाङ खेतीका प्रयासहरूलाई प्रवर्द्धन गर्न महत्वपुर्ण भूमिका खेल्न सक्ने बताए ।
गाँजाजस्तो लागुपदार्थजन्य नभएको हुँदा भाङको उत्पादन तथा औद्योगीकरणलाई नियमन गर्न सहज हुने देखिन्छ । साथै, यसबाट उत्पादित वस्तु नेपाली बजारमै प्रयोग गर्न सकिने भएकाले सरकारले भाङको वैधानिकतालाई प्राथमिकता दिनुपर्ने काफ्ले बताउँछन् ।
नेपाल कृषिको लागि अनुकूल देश हो । यहाँको अधिकांश जनसंख्या कृषि पेशामा संलग्न छन । यद्यपि, परम्परागत अभ्यास र आधुनिक प्रविधिहरूको कम प्रयोगका कारण धान, गहुँ र मकैजस्ता प्रमुख बालीहरूमा आश्रित किसानहरुको उत्पादन र नाफा सिमित रहेको पाइन्छ । । फलस्वरूप, धेरै किसानहरूले वैकल्पिक पेशा रोज्नुका साथै उल्लेख्य मात्रामा जग्गा बाँझो छाड्ने अभ्यास गम्भीर समस्याको रूपमा देखा परेको छ । हालैको सर्वेक्षणले सन् २००१/०२ र २०२१/२२ बीच कृषियोग्य जमिन ४.३ लाख हेक्टरले घटेको देखाएको छ ।
भाङबाट जैविक पदार्थ (बायोमास) र बीउ उत्पादन हुन्छ । बायोमासमा डाँठ र पात हुन्छन् । डाँठमा फाइबर तथा बीउमा लगभग एक तिहाइ तेल हुन्छ । अध्ययनले प्रति हेक्टर क्रमश ४४.७, ३.६ र २.५ टन औसत बायोमास, फाइबर र बीउ उत्पादन हुने देखाएको छ ।
देशमा गाँजा खेती अवैध भएकोले गाँजा सँगसँगै भाङको पनि कृषि अभ्यासको तथ्याङ्क र सम्बन्धित विवरणहरुबारे सीमित जानकारी उपलब्ध छन् । त्यसैले अध्ययनमा संयुक्त राज्य अमेरिका र क्यानडामा गर्दै आएका अभ्यासलाई नेपाली सन्दर्भमा रुपान्तरण गरेर प्रयोग गरिएको छ । साथै मकै र कपासको कृषि अभ्यासहरुलाई आधार मानेर अध्ययन गरिएको छ ।
माटो, भौगोलिक उचाइ, जलवायु र सडक सञ्जाललाई ध्यानमा राख्दै, भाङ उत्पादनका लागि उच्च, मध्यम र कम सम्भाव्य क्षेत्रहरू वर्गीकृत गरेको छ । धेरैजसो पहिचान गरिएका क्षेत्रहरू मध्यम सम्भावित क्षेत्रहरूमा फेला परेका छन्, त्यसपछि उच्च सम्भावित क्षेत्रहरू र केवल ०.०४% कम सम्भावित क्षेत्रहरू छन् । व्यावसायिक र औद्योगिक भाङ खेतीको सम्भाव्यतालाई ध्यानमा राख्दै, अध्ययनले कम सम्भावित क्षेत्रलाई अध्ययनमा समावेस गरेको छैन त्यस्तै मध्यम क्षेत्रहरूबाट केवल ६०% उत्पादन क्षमतालाई मात्र लिएको छ ।
प्रतिक्रिया