
काठमाडौं । चन्द्रागिरि हिल्सले पैदलयात्रीबाट प्रतिव्यक्ति उठाइएको १ सय रुपैयाँले पैदलयात्रीलाई नै लाभ मिलेको बताएको छ । चन्द्रागिरीमा केबलकार बन्नुअघि नै चन्द्रागिरी नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाका स्थानीयबाहेकलाई यो शुल्क उठाउने प्रबन्ध गरिएको कम्पनीले स्पष्ट पारेको छ ।
‘चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दा बाहेकका अन्य स्थानबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने पर्यटक तथा दर्शनार्थीहरुबाट १ सय रुपैयाँसेवा शुल्क लिई सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको थियो,’ चन्द्रागिरी हिल्सले भनेको छ, ‘सोको जानकारी चेकपोस्टस्थित सूचना बोर्डमा समेत स्पष्ट बुझिने गरी उल्लेख गरिएको छ ।’ उक्त व्यवस्थाबाट वैकल्पिक मार्ग हुँदै चन्द्रागिरी पुग्ने पर्यटक तथा दर्शनार्थीहरुलाई थप सहयोग एवं सुविधा उपलब्ध हुन पुगेको कम्पनीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।
हिल्सले चन्द्रागिरीसँग जोडिएका स्थानीय सरकार र अन्य निकायसँगको छलफल तथा समन्वय एवं लिखित र मौखिक निर्णयका आधारमा सो क्षेत्र वरिपरीको फोहोर मैला व्यवस्थापन तथा सरसफाई, शौचालयको व्यवस्थापन, निःशुल्क पिउने पानीको व्यवस्था, निःशुल्क वाईफाइ, बिजुली बत्ती, पार्किङ सुविधा र दर्शनार्थीहरुको व्यक्तिगत सुरक्षा तथा वनजन्य सुरक्षाका लागि २ जना सुरक्षा गार्ड परिचालन गरी आवश्यक व्यवस्थापन गर्दै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, सुख्खा याममा सम्भावित डढेलोको जोखिम न्यूनीकरण गर्न स्थानीय सामुदायिक वनहरुसँगको समन्वयमा ४ जना वन हेरालु राख्नको निमित्त आर्थिक सहायता समेत प्रदान गर्दै आईरहेको छ ।’
करिब ७० हजार सेयरधनीको स्वामित्व रहेको चन्द्रागिरी हिल्स सार्वजनिक कम्पनीको रूपमा सञ्चालनमा छ । चन्द्रागिरि हिल्सले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको दाबी गरेको छ । कम्पनलिे चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन गर्न वैकल्पिक मार्ग हुँदै जाने पर्यटक तथा दर्शनार्थीसँग रकम लिइएको भन्दै उठेको प्रश्नबाट आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यसो गर्नुको कारण समेत खुलाएको हो ।
प्रतिक्रिया