
काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले सरकारले सबै उद्यमी व्यवसायीलाई समान रुपले कारोबार र प्रतिष्पर्धा गर्ने मौका दिने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले कुनै निश्चित उद्योगी व्यवसायीको पक्षमा नीति निर्माण नगर्ने दाबी गरे ।
अर्थतन्त्रमा देखिएका कानुनी जटिलतालाई समाधान गर्न सरकार लागि परेको खतिवडाको भनाइ छ ।
विगतमा अर्थतन्त्रमा देखिएका विभिन्न विकृतिका कारण समस्या उत्पन्न भएको बताउँदै उनले त्यसले गर्दा सरकारले लिएको लक्ष्यमा पुग्न नसकिएको बताए ।
‘खास गरी अहिले हाम्रो अर्थतन्त्रमा केही कानुनी जटिलताहरु छन् । त्यसलाई हामीले सल्ट्याउँदै छौँ । हिजोका अर्थतन्त्रका केही विकृतिहरुलाई हामीले समाधान गर्दै जानुपर्नेछ । जुन उत्साह हामीले अपेक्षा गरेका छौँ त्यो रुपमा अझै पुग्या छैनौँ कि भन्ने हामीलाई पनि लागेको छ,’ उनले भने ।
सरकारले राज्यका कुनै पनि निकायमार्फत तर्साउने धम्क्याउने वा असुली गर्ने काम नगर्ने भन्दै उद्योग व्यवसायीलाई आश्वस्त पारे ।
‘सरकारले कुनै निश्चित व्यवसायीको पक्षमा मात्रै कुनै नीति निर्माण गर्दैन । त्यस्ता व्यवसायको पक्षमा मात्रै कुनै निर्णय गर्दैन । र राज्य निजी क्षेत्रमैत्री हुनका लागि सबै व्यवसायीलाई समान कारोबार गर्ने प्रतिस्पर्धा गर्ने मौका दिन्छ भन्ने कुरामा यो सरकारबाट तपाईंहरु आश्वस्त हुनुहोस्,’ उनले भने, ‘तपाईंहरुले गल्ती नगरुन्जेल राज्यले थुन्ने छेक्ने दुरुत्साहित गर्ने काम गर्दैन । चाहे त्यो राजस्व अनुसन्धानको माध्यमबाट होस् चाहे सम्पत्ति शुद्धीकरणको माध्यमबाट होस्, अख्तियारको माध्यमबाट होस् वा अरु कुनै माध्यमबाट होस् । राज्यले राम्रो व्यवसाय गर्नेलाई तर्साउने धम्क्याउने र असुली गर्ने काम गर्दैन भन्ने कुरामा ढुक्क हुनुहोस् ।’
पूर्वअर्थमन्त्री खतिवडाले उद्योग व्यवसायीका लागि आवश्यक परेको अवस्थामा राज्यले छिटो बाटोबाट नीति निर्माण गरी कानुनी समस्या समाधान गर्ने बताए ।
पछिल्लो समय उद्योग व्यवसायमा देखिएको ऊर्जा समस्या समाधान गर्न उद्योगी व्यवसायीले आफ्नै पहलमा केही गर्नुपर्ने भन्दै सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा दबाब सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया