के अमेरिकाबिना युरोपेली देशले युक्रेनमा रूसलाई रोक्न सक्छन् ?

2k
Shares

एजेन्सी । यस्तो देखिन्छ कि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेलायती सेनामा धेरै भरोसा छ । यति भरोसा त बेलायती सेनाका अधिकारी वा पूर्व सैन्य अधिकारीहरूलाई पनि नहुन सक्छ । ट्रम्प जब बेलायतका प्रधानमन्त्री किएर स्टार्मरसँग पत्रकार सम्मेलन गरिरहेका थिए तब उनलाई युक्रेनको सुरक्षा सम्बन्धी अमेरिकाको ग्यारेन्टीबारे सोधियो।

जसको जवाफमा उनले भने, ‘बेलायतसँग सक्षम सैनिकहरू छन् र उत्कृष्ट सेना छ । उनीहरू आफ्नो सुरक्षा आफैं गर्न सक्छन्।’

के बेलायतको सेना रुससँग सामना गर्नेछ ? यस प्रश्नको उत्तर ट्रम्पले दिएनन् ।

सार्वजनिक रूपमा अमेरिकी वरिष्ठ सैन्य अधिकारीहरू बेलायती सेनाको प्रशंसा गर्छन् । तर निजी कुराकानीमा उनीहरू बेलायती सेनाको आलोचना गर्छन् । खासगरी कटौतीपछि बेलायती सेनामा ७० हजार मात्रै नियमित सैनिक बाँकी रहेको अवस्था छ । बेलायतको यात्राका बेला सेनाका एक वरिष्ठ अधिकारीले निजी कुराकानीमा भने, ‘यो धेरै नै कम हो ।’

अन्तर्राष्ट्रिय स्ट्राटेजिक अध्ययन संस्थान अनुसार रूसको सैन्य बजेट सम्पूर्ण युरोपको रक्षा खर्चभन्दा बढी छ । यसमा ४१ प्रतिशतले वृद्धि भएको छ र यो उनको जीडीपीको ६.७ प्रतिशत हो । जबकि बेलायतले २०२७ सम्म आफ्नो जीडीपीको २.५ प्रतिशत मात्र सैन्यमा खर्च गर्ने योजना छ ।

अमेरिका बिना बेलायतले रूसलाई टक्कर दिन सक्छ ?

ट्रम्पको भनाइले उनी युक्रेनमा युद्धविरामको लागि आफ्ना सैनिक तैनाथ गर्ने छैनन् भन्ने उजागर गर्छ । अमेरिकी उपस्थिति आर्थिक कारणले हुनेछ जसमा खनन सम्बन्धी स्वार्थहरू जोडिएका छन् । यसले रूसलाई पुनः आक्रमण गर्नबाट रोक्ने उनको विश्वास छ । तर ट्रम्प प्रशासन त्यहाँ अर्को शक्तिशाली शक्ति हुनुपर्छ जसले अन्य सहयोगहरू उपलब्ध गराउन सकोस् भन्ने ठान्छन् ।

यो काम युरोपेली देशहरूले गर्नुपर्छ । तर प्रश्न यो होइन कि युरोपले यो गर्छ वा गर्दैन । प्रश्न यो हो कि युरोपसँग यसको लागि पर्याप्त सैन्य संख्या छ कि छैन । यसको उत्तर हो ‘छैन’ । यसैले कीर स्टार्मरले अतिरिक्त सुरक्षा ग्यारेन्टीको लागि विश्वकै सबैभन्दा शक्तिशाली अमेरिकी सेनाको प्रशंसा गरे ।

बेलायत मात्र होइन शीतयुद्धपछि आफ्नो सैन्य शक्ति घटाउने । तर युरोपका अन्य देशहरूमा यो प्रवृत्ति बदलिँदै छ । केही देशहरूले आफ्नो सैन्य खर्च बढाउँदै छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन् ‘रूसलाई आक्रमणबाट रोक्न उनलाई १ देखि २ लाख अन्तर्राष्ट्रिय सैनिकहरू चाहिन्छ ।’ तर युरोपले आफ्नै स्तरमा यति सैनिक पठाउन सक्दैन ।

पश्चिमा अधिकारीहरू ३० हजार सैनिक पठाउने विचार गरिरहेका छन् । युरोपेली जेट र युद्धपोतहरूले युक्रेनको वायुक्षेत्र र समुद्री मार्गहरूको निगरानी गर्नेछन् । यस सेनाले युक्रेनका शहरहरू, बन्दरगाहहरू र आणविक शक्तिकेन्द्रहरूको सुरक्षा गर्नेछ । तर पूर्वी युक्रेनको मोर्चामा तिनीहरू तैनाथ हुने छैनन् । युरोपीय लडाकु जेट र युद्धपोतहरूले युक्रेनको वायु र समुद्री क्षेत्र नियन्त्रण गर्नेछन् ।

तर पश्चिमा अधिकारीहरू यो पर्याप्त नहुने मान्छन् । यसैले उनीहरूले अमेरिकी सहयोगको माग गरिरहेका छन् । अधिकारीहरू कम्तीमा युरोपेली सेनालाई सहयोग गर्न अमेरिकी लडाकु जेटहरू पोल्यान्ड र रोमानियामा तैनाथ गर्नुपर्नु पर्ने बताउँछन् । युरोपले अमेरिकको निगरानी र गुप्त जानकारी संकलन क्षमताको प्रतिस्पर्धा गर्न सक्दैन । उनीहरू युक्रेनलाई थप हतियार आपूर्ति गर्न पनि सहमत हुन सक्छन् ।

युरोपेली देशहरूसँग ठूलो सैन्य अभियान चलाउने क्षमता छैन

अमेरिकाले युक्रेनलाई दिएकोभन्दा केही बढी हतियार युरोपले पठाइसकेको छ । स्रोतका अनुसार अमेरिकाले युक्रेनलाई लामो दूरीसम्म पुग्ने मिसाइल र वायु सुरक्षा प्रणाली उपलब्ध गराएको छ । युरोपीय देशहरूसँग आफ्नै स्तरमा ठूलो सैन्य अभियान चलाउने क्षमता छैन । युरोपीय देशहरूको हतियार आपूर्ति पनि अमेरिकामा निर्भर छ ।

सन् २०११ मा लिबियामा नेटोको बमबारी अभियानले धेरै कमजोरीहरू देखाएको थियो । युरोपेली देशहरूको नेतृत्वमा पनि उनीहरू अमेरिकी सहयोगमा निर्भर रहे । यी देशहरू अमेरिकी ट्यांकरहरूको सहयोगमा निर्भर थिए । तर स्टार्मर कुनै सैन्य ग्यारेन्टी बिना नै अमेरिकाबाट फर्किए ।

बीबीसीसँग कुरा गर्दा बेलायती स्वास्थ्य मन्त्री वेस स्ट्रिटिंगले भने, ‘ट्रम्प नेटोको आर्टिकल ५का लागि प्रतिबद्ध छन् । जसमा सहयोगी माथिको आक्रमणलाई सबैमा आक्रमण मानिनेछ उल्लेख छ।’

तर अमेरिकी रक्षा मन्त्री पिट हेगसे पहिले नै युक्रेनमा पठाइएको कुनै पनि सैन्य दल नेटो सन्धि अन्तर्गत नपर्ने र नेटोजस्तो सुरक्षा ग्यारेन्टी नदिइने उल्लेख गरिसकेका छन् । यसैले युरोपको शक्तिको परीक्षण हुनेछ । यो पनि हेर्न बाँकी छ कि स्टार्मरले ट्रम्पको शब्दहरू प्रयोग गरेर अरूलाई साथ लिन सक्छन् कि सक्दैनन् ।

अहिलेसम्म फ्रान्स मात्र युरोपको यस्तो देश हो जो युक्रेनलाई साथ दिन तयार छ । उत्तरी युरोपका केही देशहरू जस्तै डेनमार्क, स्वीडनले प्रतिबद्धता देखाउन खोजेका छन् । तर उनीहरूको प्रतिबद्धता अमेरिकाजस्तै छ । स्पेन, इटाली र जर्मनी अहिलेसम्म यसको विरोधमा देखिन्छन् । स्टार्मरले अहिलेसम्म अमेरिकाले युरोपेली सेनाको साथ दिने देख्छन् ।

तर प्रश्न त्यही हो, के बेलायती सेनाले रूसलाई टक्कर दिन सक्छ ? रूसी सेना कमजोर भए पनि यसको उत्तर ‘सक्दैन’ नै हो ।

(बीबीसीका रक्षा संवाददाता जोनथन बीएलको लेखको अनुवाद ।)